भूमिका उपाध्याय,
बर्दिबास, १२ साउन ।

‘हाम्रो माया घर !’ नामले दिने दुबै अर्थ ठिक छन् । हामीले माया गर्नु पर्ने घर अनि बेसहाराले माया पाउने घर । बर्दिबास–२ मा अहिले निर्माणकै चरणमा रहेको ‘हाम्रो माया घर’ मा आज सोमबार एक बर्से बालकको जन्मदिन समारोह सम्पन्न भएको छ ।

बर्दिबास–१ का बासिन्दा पवन भट्टराई र नविना भट्टराईका प्रथम सन्तान साधिन भट्टराईको जन्मदिन उत्सव ‘हाम्रो माया घर’मा आयोजना गरिएको हो । साधिनको जन्मदिनको अवसरमा बाजेबजै र आमासहितका परिवारजन र आफन्त ‘हाम्रो माया घर’मा जम्मा भई जन्मोत्सव मनाइएको हो ।

बेसहारालाई आश्रय दिने अभिष्ठसाथ निर्माण भइरहेको ‘हाम्रो माया घर’ बारे आमचासो बढाउने उद्देश्यले बाजे शम्भुप्रसाद भट्टराईले नातिको जन्मदिन उत्सव मनाउन यो ठाउँ रोज्नु भएको हो । “नातिको जन्मदिन ‘हाम्रो माया घर’ मै मनाउँ भन्ने लाग्यो, घरका परिवारजन सबै सहमत भए” भट्टराईले भन्नुभयो, “जन्मोत्सव, स्मृतिदिवस र भोजनदानजस्ता कार्यक्रम हाम्रो मायाघरमा आयोजना गरिदा यसबारे चासो बढ्ने र अनुकरण हुने विश्वासमा यो ठाउँ रोजेका हौं ।” भट्टराई ‘हाम्रो माया घर’ निर्माण समितिका अध्यक्ष हुनुहुन्छ ।

साधिनको जन्मदिनमा हाम्रो माया घर बर्दिबासका अध्यक्ष कृष्णप्रसाद गौतम, समितिका सदस्यहरु र परिवारजनले मिठाइ खाने ख्वाउने गरेर खुसी साटेका छन् । साधिनकी आमा नविना र बज्यै मन्दिरा भट्टराईले यस अवसरमा बेसहाराहरुको भोजनका लागि ‘हाम्रो माया घर’ लाई सात हजार ५०० नगद दान गर्नुभयो । समारोहमा सहभागी सबैले सुधिनको सुस्वास्थ्य र सुमङ्गल कामना गरेका छन् ।

भट्टराई परिवारको यो कामले यस्ता खुसीका अवसर , पितृ श्राद्ध र भोजनदानजस्ता समारोह ‘हाम्रो माया घर’ मा मनाउन सबैलाई प्रेरणा दिएको हाम्रो मायाघर बर्दिबास समितिका अध्यक्ष गौतमले बताउनुभयो ।

बर्दिबासमा हाम्रो मायाघर निर्माण सहयोगार्थ गत वर्ष साउन २१ देखि २९ सम्म आयोजित शिवपुराण महायज्ञबाट सङ्कलित नगद एक करोड ६५ लाखबाट तीन तले घर बन्दैछ । भुइँतलामा सभाहल, पहिलो तलामा मन्दिर र सभाहल र माथिल्लो तलामा आबासीय चार कोठासहितको यो भवन निर्माणमा दुई करोड ४७ लाख लाग्ने प्राविधिक मूल्याङ्कन छ । शिवपुराण महायज्ञकै क्रममा घोषित रकम प्राप्त हुन बाँकी रहेको हुँदा अहिले ‘हाम्रो माया घर’ आर्थिक सङ्कटबाट गुज्रीरहेको अध्यक्ष गौतमको भनाइ छ ।

‘हाम्रो माया घर’ निर्माणार्थ मधेश प्रदेश सरकारले यो आर्थिक वर्षमा करिब ७० लाख विनियोजित गरेको छ । यसैगरी बर्दिबास नगरपालिकाले २५ लाख उपलब्ध गराउने प्रतिबद्धता नगरप्रमुख प्रहलादकुमार क्षत्रीले गर्नुभएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

“प्रतिबद्धताअनुसारको रकम प्राप्त हुँदै जाँदा पहिलो भवन त बन्ला, यद्यपि प्रतिबद्धताको रकम प्राप्त हुन ढिलाइ हुँदा आर्थिक अभाव झेल्नु परेको छ”गौतमले भन्नुभयो, “दोस्रो भवन भने अझै अन्यौलमा छ ।” दोस्रो भवनको लागत इष्टिमेट आठ करोडमाथि रहेको हुँदा त्यसको स्रोतको निर्क्यौल नहउञ्जेल निर्माण थाल्न नसकिने उहाँको भनाइ छ । तर पहिलो भवन तयार हुनासाथ आश्रयविहीनहरुको सेवा यहाँ थालिने गौतमले स्पष्ट पार्नुभयो ।

 

 


२०८२ श्रावण १२, सोमबार १५:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय