
नेपालवाणी नेटवर्क
जनकपुरधाम, श्रावण ।
मधेश प्रदेशसभा सभामुख रामचन्द्र मण्डलले एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत कालोपत्रे सडकको शिलान्यास गरेका छन् । सभामुख मण्डलले धनुषाको धनुषाधाम नगरपालिकाको मालटोल देखि मिथिला विहारी नगरपालिकाको पुरनदाहा सम्मको पाँच किलोमिटर सडक कालोपत्रे सडकको शिलान्यास गरेका हुन् ।
धनुषाधाम नगरपालिकाको मालाटोल देखि हरिहरपुर–पर्वता हुँदै भुतही पुरनदाहा सडक खण्ड पाँच किलोमिटर दुरीको सडक ५ करोडको लागतमा कालोपत्रे सडक निर्माण हुन लागेको सभामुख रामचन्द्र मण्डलका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकारी दिए ।
एक समारोहका बीच कालोपत्रे सडकको शिलान्यास गरेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सडक निर्माणपछि जनताको आवत जावत तथा धुलो र हिलोबाट जनतालाई राहत हुने विश्वास व्यक्त गरे । साथै सडकको विकासले क्षेत्रको विकासमा तथा कृषिमा समेत ठुलो सहयोग पुग्ने विश्वास छ ।
आर्थिक वर्ष २०८२÷०८३ मा सभामुख रामचन्द्र मण्डलको पहलमा शहरी विकास मन्त्रालय, सिंहदरवार , काठमाण्डौवाट धनुषा हंसपुर नगरपालिका ७ लौवाखोर देखि परसाही हुँदै सबैला नगरपालिका ७ लवटोली सम्म कालोपत्रे सडकमा ३ करोड, पुर्व पश्चिम राजमार्ग माल टोलदेखि हरिपुर हुँदै पर्वता, भुतही पटेर्वा, पुरान्दाहा बजारसम्म बाटो कालोपत्रेमा ३ करोड रकम विनियोजन गरिएको स्वकीय धिरेन्द्र मण्डलले जानकारी दिए ।
यसैगरी धनुषाको धनुषाधाम नगरपालिका ७ किसानपुर देखि धनुषाधाम ५ नौसय विघा हुँदै परिक्रमा सडक सम्म कालोपत्रे सडकमा ३ करोड, धनुषाको हंसपुर नगरपालिकामा एकीकृत वस्ती विकास कार्यक्रममा ३ करोड, धनुषाधाम शहिद गेट (शहिद चौक) बाट सबैला नगरपालिका ११ इनर्वा हंसपुर नगरपालिका ८ रामनगरा हुँदै सुगनिकस बजारसम्म बाटो कालोपत्रेमा ३ करोडको योजना समावेश गरिएको छ ।
त्यसैगरी इनर्वा देखि धनुषाधाम सम्म सडक निर्माण सबैला नगरपालिकामा ११ ३ करोड र धनुषाको मिथिला बिहारी नगरपालिका ३ मंसरी पोखरी सौन्दर्यकरण तथा ट्रयाक निर्माणको योजना समेत समावेश गरिएको छ ।