
जनकपुरधाम : नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिको जग्गामा नेपाल बार एशोसिएशन, धनुषा जनकपुरले बलजफती कब्जा गर्न खोजेपछि भएको मुटभेडमा पाँच जना पत्रकार घाईते भएका छन् । कानूनी रुपमा नेपाल पत्रकार महासंघ, मधेश समितिले नेपाल सरकार, गुठ्ठी संस्थानसंग २० वर्षको लागि लिजमा प्राप्त गरेको जग्गा नेपाल बार एशोसिएशन धनुषा जनकपुरका पदाधिकारी तथा कानून व्यवसायीहरुले कब्जा गर्न खाजेपछि भएको दोहोरो मुटभेडमा अध्यक्ष बञ्जारा सहित पाँच जना पत्रकारहरु घाईते भएका हुन् ।
कानूनी रुपमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले नेपाल सरकार, गुठ्ठी संस्थान अधिनस्त जग्गा कानून सम्वत रुपमा २० वर्षको लिज सम्झौतापछि नेपाल बार एशोसिएशन धनुषाले जग्गा आफुहरुको रहेको भन्दै पार्किङ्ग स्थल बनाउने तथा तारबार गर्न किल्ला गाडेपछि दुईतर्फि विवाद भएको हो । ‘कानुनको अज्ञानता क्षम्य हुदैन’ भन्ने सिद्धान्त अरुलाई पढाउने कानून व्यवसायीहरुले नै स्वयं कानून सम्वत सम्झौता नमान्ने तथा पत्रकारलाई मुद्दा लगाईदिन्छु भन्दै धम्की दिने क्रममा दुई पक्षीय विवाद हुँदा ५ जना पत्रकार घाईते भएका छन् ।
घाईते हुनेहरुमा नेपाल पत्रकार महासंघ, प्रदेश समितिका अध्यक्ष श्याम कुमार बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति) र पत्रकारद्वय दिवाकर साह, अनिल निराला घाईते भएका छन् । उनीहरुको उपचार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको छ ।
धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका स्थित राममन्दिर गुठ्ठी अन्तर्गतको कित्ता नं. ६५ क्षेत्रफल ४ कठ्ठा जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णय अनुसार पत्रकार महासंघ मधेश प्रदेश समितिलाई २० वर्षको लिजमा प्रदान गरिएको छ । २०८२ जेष्ठ महिनाको ७ गते गुठ्ठी संस्थानले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी नियमानुसार प्राप्त हुन आएको प्रस्ताव मध्येबाट पत्रकार महासंघले वार्षिक वहाल सबैभन्दा बढी रकम तीन लाख एक हजार उच्चत्तम मुल्याङकन भएर श्रावण १ गते गुठ्ठीबाट स्विकृत भएको थियो ।
सोही जग्गामा नेपाल बार एशोसिएशन जनकपुरधामले पार्किङ स्थाल बनाउँदै जग्गा अतिक्रमण गर्न श्रावण २० गते सूचना नै जारी गरी २१ गतेदेखि बार एशोसिएशनको छेउमा रहेको जग्गामा कानुन व्यवसायीहरुलाई गाडी पार्किङका लागि उर्दी जारी गरेको थियो । सोही अनुसार कानून व्यवसायी तथा बार सम्मिलित वकिलहरुले पत्रकार महासंघको जग्गाका तारबार लगाउने तथा किल्ला गाड्ने र पार्किङ्ग समेत जर्वरजस्ती गर्दै आएकोमा महासंघले त्यसको प्रतिरोध गरेकामा दुईपक्षीय मुटभेड भएको हो ।