काठमाडौं, ६ गते भदौ। लोकतान्त्रिक महिला संघको आयोजनामा तीज पर्वको अवसरमा आज लोसपा नेपालको केन्द्रीय कार्यालय, बबरमहलमा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वसँगै विभिन्न भातृसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रममा लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले महिलाको सामाजिक, सांस्कृतिक र राजनीतिक योगदानको प्रशंसा गर्दै तीज जस्ता पर्वहरूले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने बताएका। उनले भने,”तीज केवल नाचगानको उत्सव होइन, यो महिलाहरूको अधिकार र आत्मसम्मानको प्रतीक पनि हो। लोकतान्त्रिक महिला संघको यस्तो पहल निकै सराहनीय छ।”

कार्यक्रमका प्रमुख अतिथि, पार्टीका वरिष्ठ सह-अध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले तीज पर्वको सांस्कृतिक र सामाजिक महत्त्वका बारेमा प्रकाश पार्दै महिलाहरूको सशक्तीकरणमा यस्ता कार्यक्रमहरूले ठूलो प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले भने, “यस प्रकारका सांस्कृतिक कार्यक्रमहरूले राजनीतिक आन्दोलनमा पनि ऊर्जा पुर्‍याउँछन्। महिलाहरूको सक्रिय सहभागिता बिना सशक्त लोकतन्त्र सम्भव छैन।”

लोकतान्त्रिक पत्रकार संघका अध्यक्ष कामरेन्द्र वर्माले महिलासम्बन्धी कार्यक्रमहरूमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस्ता उत्सवहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

लोसपा नेपालका प्रवक्ता र उपाध्यक्ष डा. अभास लाभले सुमधुर गीत प्रस्तुत गरेर कार्यक्रमलाई अझ मनोरञ्जनपूर्ण बनाएका थिए। उनले महिलाका अधिकारका मुद्दामा आफ्नो निरन्तर समर्थनको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता गर्दै लोकतान्त्रिक महिला संघकी अध्यक्ष मिनु ठाकुरले तीज पर्वलाई महिला सशक्तीकरणको प्रेरणास्त्रोत भएको उल्लेख गरिन्। उनले भनिन्, “हाम्रो संघ महिला अधिकारका लागि निरन्तर काम गर्दैछ, र आजको तीज उत्सव यसका सांस्कृतिक प्रतिबिम्बको रूपमा प्रस्तुत भएको छ।”

कार्यक्रममा लोसपा नेपालका महासचिव मनिष मिश्र, डा. सुरेन्द्र झा, सितल यादव, लोकतान्त्रिक युुवा संघका सुजन यादव, लोकतान्त्रिक विद्यार्थी संघका अध्यक्ष राेशन मिश्रा, पार्टीका सचिव अजय झा, लोकतान्त्रिक पत्रकार संघका वरिष्ठ उपाध्यक्ष बिजेता चौधरी, महासचिव सुस्मिता लाल, चन्द्रमोहन चौधरी लगायतका अन्य वरिष्ठ नेता, भातृसंस्थाका प्रतिनिधि, महिला संघका पदाधिकारी, पत्रकार, सांस्कृतिक कलाकार र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तीजको अवसरमा प्रस्तुत सांस्कृतिक कार्यक्रम, गीत-संगीत र नृत्यले उपस्थित सबैलाई हर्षित बनायो।


२०८२ भाद्र ६, शुक्रबार २०:५२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय