
नेपालवाणी नेटवर्क
जनकपुरधाम, भदौ ।
मधेश प्रदेशसभाको बैठक मंगलवारका लागि बोलाईएको छ । जेन–जी आन्दोलनको क्रममा भएको सरकारी संरचना तोडफोड तथा आगजनी पछि ध्वस्त भएको संरचनालाई मर्मत सम्भार गरेर मंगलवारका लागि बैठक बोलाईएको छ ।
सभामुख रामचन्द्र मण्डलको पहलमा शनिवार भएको सर्वदलीय बैठकबाट मंगलबार देखि प्रदेशसभाको बैठक बोलाउने सहमति भएको छ । जेन–जी आन्दोलनमा भएको दमनपछि भदौ २४ गते जनकपुरधाममा भएको प्रदर्शनमा मधेश प्रदेशसभा सचिवालय तथा संसदीय दलको कार्यालय, समितिको कार्यालयमा पनि तोडफोड आगजनी गरिएको थियो ।
आगजनी गरिएको प्रदेशसभाको बैठक कक्षलाई मर्मत सम्भार गरेर त्यहीँ बैठक चलाउने तयारी रहेको सभामुख रामचन्द्र मण्डलका प्रमुख स्वकीय सचिव रमेश कुमार मण्डलले जानकारी दिए । आगजनी तथा तोडफोडबाट मधेश प्रदेशसभाको करिब ४० करोड बराबरको क्षतिको अनुमान गरिएको मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए ।