मटिहानी (महाेत्तरी), २५ असोज ।
मधेशमा धार्मिक नगरीको परिचय बनाएको महोत्तरीको मटिहानीमा अहिले खुसी छाएको छ । हुलाक सेवा विभागले मुलुककै मठहरुको नायक मानिने मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसरको चित्र हुलाक टिकटमा प्रकाशन गरेपछि यहाँ खुसी छाएको हो । अहिले मटिहानीबासी आफ्नो ठाउँले राष्ट्रिय महत्व पाएको सगर्व बताउँछन् । विभागले बिहीबार मठ परिसरको चित्र अङ्कित रु. १० रुपैयाँको टिकट प्रकाशन गरेर प्रयोगमा ल्याएको हो ।
“हामीले त हिजो शुक्रबार थाहा पायौं, हाम्रो मठ परिसरको चित्र हुलाक टिकट बनेछ” मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल भन्नुहुन्छ, “यो मटिहानीबासीका लागि अहिले गर्वको कुरा बन्यो ।” मटिहानी नगर कार्यपालिकाको कार्यालयले गत वर्ष २०८१ साल असार ११ गते नै हुलाक सेवा विभागलाई लक्ष्मीनारायण मठ र मन्दिरको महत्व दर्शाउँदै यसको चित्र हुलाक टिकटमा प्रकाशन गर्न प्रस्ताव गर्दै अनुरोध गरेको मण्डलले सम्झनुभयो । नगर कार्यपालिकाको कार्यालयको अनुरोध स्विकार्दै विभागले अहिले टिकट प्रकाशन गरेपछि नगरबासीमा खुसी छाएको उहाँको भनाइ छ ।
“हामीले एक वर्षअघि नै हुलाक सेवा विभागसँग लिखित अनुरोध गरेका थियौं, अहिले हाम्रो अनुरोध स्वीकार भएको छ” नगरप्रमुख मण्डल भन्नुहुन्छ, “लक्ष्मीनारायण मठ धार्मिक, पौराणिक र ऐतिहासिक महत्वका दृष्टिले विशिष्ट छ, हुलाक सेवा विभागले यो महत्व स्वीकार गरेर हामीलाई गौरवान्वित बनाएको छ, हामी नगरबासी विभागप्रति आभार व्यक्त गर्दछौं ।” मठको चित्र अङ्कित हुलाक टिकट प्रकाशनले यसको महत्ता बढ्नसँगै यहाँका धार्मिक सम्पदालाई राष्ट्रिय गौरवको रुपमा स्थापित गर्न सहयोग पुग्ने मण्डलको विश्वास छ ।
अहिले मटिहानीका सर्वसाधारण पनि यो खुसीमा दङ्ग छन् । “खुसी हुन धेरै ठूलो कुरा त चाहिन्न रहेछ, अहिले हाम्रो मठको चित्र हुलाक टिकट बनेपछि समस्त नगरबासी खुसी भएका छौं” मटिहानी–८ का ३० वर्षीय युवा इसराफूल राइन भन्नुहुन्छ, “यसले हाम्रो ठाउँको पहिचान र गौरव बढाएको छ ।” हुलाक सेवा विभागले बिहीबार प्रकाशन गरेको रु. १० मूल्यको टिकटमा लक्ष्मीनारायण मठको मुख्य भवनको बाहिरी संरचनाको चित्र समेटिएको छ । सो टिकटमा बिहीबार सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले टाँचा लगाउनु भएसँगै प्रयोगमा ल्याइएको हुलाक सेवा विभागले पुष्टि गरिसकेको छ ।
मटिहानी त्रेता युगमा श्रीराम र जनकनन्दिनी सीताको विवाहमा यज्ञवेदी बनाउन माटो खनिएको ठाउँका रुपमा चिनिन्छ । यहाँ सो माटो खनिएको ठाउँ विश्वास गरिने लक्ष्मीसागर अत्यन्त पवित्र तलाउ मानिन्छ । यसका अतिरिक्त विक्रम सम्वत् १७७५ सालमा स्थापना गरिएको संस्कृत पाठशाला (गुरुकूल) हाल राजकीय संस्कृत माध्यमिक विद्यालयका नामले विख्यात छ । यसलाई संस्कृत भाषा तथा साहित्यको अनुसन्धान केन्द्रका रुपमा विकास गर्न पहलकदमी बढाइएको नगरप्रमुख मण्डल बताउनुहुन्छ । यसैगरी यहाँ राजा जनकका विद्वत्सभाका महाज्ञानी याज्ञवल्क्य र भगवान लक्ष्मीनारायणका नाउँमा स्थापित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) वर्षौदेखि सञ्चालनमा छ । जहाँ स्नातकोत्तर तहसम्मको पठनपाठन हुँदै आएको छ ।
आफ्नो ठाउँ धार्मिक सद्भावको अनुपम ठाउँ भएको मटिहानीबासी सगर्व बताउँछन् । मटिहानी आधुनिककालमा हिन्दू परम्पराका सन्त तस्मैयाबाबा र इस्लाम धर्मावलम्बी सुफी सन्त पिरबाबाको संयुक्त प्रयत्नले बसाइएको नगर रहेको यहाँ विश्वास गरिन्छ । “यहाँ सबै चाडपर्व साझा हुन्छन् , हिन्दूका हउन् कि इस्लाम परम्पराका । एकअर्काका चाडवाडमा हिलमिलले सरिक हुने यहाँको स्थापित संस्कृति छ” राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रधानाध्यापक ईश्वरी पौडेल भन्नुहुन्छ, “यहाँ तस्मैयाबाबाको समाधिस्थलमा इस्लाम र पिरबाबाको मजार (समाधिस्थल) मा हिन्दू इच्छित कामनाको पुकारा गर्न पुग्छन् ।” दुबै सन्तका समाधिस्थल यहाँका पवित्र र अत्यन्त महत्वका स्थलका रुपमा पूजित रहेका पौडेलको भनाइ छ ।
अहिले हुलाक सेवा विभागले लक्ष्मीनारायण मठ परिसरको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गर्नाले यहाँका अन्य धार्मिक , पौराणिक तथा ऐतिहासिक सम्पदाहरुले पनि क्रमशः महत्व पाउने नगरबासीमा आस जागेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण लाल कर्ण बताउनुहुन्छ ।
मटिहानी मिथिलाक्षत्रको प्राचीन गौरव रहेको हुँदा यहाँका प्रत्येक सम्पदाहरुले साँस्कृतिक विरासत बोकेका मटिहानी–७ का बासिन्दा ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ । “तीनै तहका सरकारले यहाँका सम्पदाहरुको संरक्षण र सम्बर्द्धनमा ध्यान दिन पर्दछ” उहाँ भन्नुहुन्छ, “अहिले हुलाक सेवा विभागले मठ परिसरको हुलाक टिकट प्रकाशन गरेर थोरै भएपनि पहलकदमी लिएको छ, राज्यका अन्य निकायबाट पनि यस्तै महत्व पाइनु पर्दछ ।”
मठ परिसरको चित्र अङ्कित हुलाक टिकट प्रकाशनले यहाँको पहिचान र गौरववृद्धिमा महत्वपूर्ण फड्को भएको आम मटिहानीबासी बताउँछन् । मठ परिसरको चित्र अङ्कित हुलाक टिकट प्रकाशनले यहाँका धार्मिक तथा पौराणिक सम्पदाहरुको गौरव बढाएको मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णवको कथन छ ।



								
    
    
    
    
												
												
												
												
												
												
