मटिहानी(महोत्तरी), २४ कात्तिक ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत महोत्तरीको मटिहानी–८ मा विद्यालयको चार कोठे नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ । श्रीराम माध्यमिक विद्यालयका लागि निर्मित यो भवन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र मधेश प्रदेश सरकारको विशेषअनुदान रकमबाट निर्माण सम्पन्न भएको हो । नवनिर्मित विद्यालय भवन आज सोमबार मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले उद्घाटन गर्नु भएको छ ।
विद्यालयका लागि आधुनिक सुविधा सम्पन्न चार कोठे भवन निर्माणले कक्षा सञ्चालन र प्रयोगशाला अभ्यासमा निकै सहज भएको विद्यालयका प्रधानाध्यापक श्रीश मिश्रले बताउनुभयो । बालविकास तहदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा एक हजारमाथि सङ्ख्याका छात्रछात्रा अध्ययनरत रहेका छन् । नयाँ भवनले शैक्षिक पूर्वाधार सुदृढिकरणमा बल मिलेको विद्यालय प्रशासनले जनाएको छ ।
भवन निर्माण गरिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ४५ लाख र मधेश प्रदेश सरकारबाट प्राप्त विशेषअनुदानवापतको १८ लाखसमेत ६३ लाख खर्च भएको मटिहानी नगर कार्यपालिकाको कार्यालयको प्राविधिक शाखा प्रमुख इञ्जिनियर दिनेश साहले जानकारी दिनुभयो ।
श्रीराम माध्यमिक विद्यालय ३६ हजार जनसङ्ख्या रहेको मटिहानी नगरक्षेत्रभित्र कक्षा ११/१२ अध्ययन अध्यापन हुने एकमात्र माध्यमिक विद्यालय हो ।

