भूमिका उपाध्याय,
महोत्तरी, २५ कात्तिक ।
नेकपा (एमाले) को पूर्वघोषित कार्यक्रमअनुसार आज मङ्गलबार महोत्तरीका सबै स्थानीयतहका मुख्य केन्द्रहरुमा जनप्रदर्शन भएको छ । वर्तमान केन्द्र सरकारलाई असम्बैधानिक बताउँदै आएको एमालेले पार्टी केन्द्रकै निर्णय र निर्देशनअनुसार जिल्लाका सबै स्थानीयतहमा आज जनप्रदर्शन गरेको हो ।
जनप्रदर्शनकै क्रममा आज बर्दिबासमा सयौंको सङ्ख्याका एमाले कार्यकर्ताले मोटरसाइकल र्याली गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनका क्रममा प्रतिनिधिसभा पुनर्स्थापन हुनपर्ने, गत भदौ २३/२४ को निष्पक्ष न्यायिक आयोग गठन गरी दोषीलाई कार्वाही गरिन पर्ने र दलका नेताहरु र आम नागरिकको सुरक्षा प्रत्याभूति हुनपर्नेसहितका नारा लागेका छन् ।
एमालेले जेन्जी आन्दोलनको वैधानिक सम्बोधनका लागि सम्बिधान संशोधन गरिन संसद पुनर्स्थापना गरिन पर्ने बताउँदै आएको छ । अहिले सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको डिङ् फुकेपनि सरकार आफैं चुनाव गराउने वातावरणविरुद्ध रहेको एमाले महोत्तरी अध्यक्ष बलिराम यादवको आरोप छ ।
अब आन्दोलन अझ घनिभूत गरिदै लगिने एमाले कार्यकर्ता बताउँछन् । अब यही कात्तिक २९ गते सदरमुकाम केन्द्रित जनप्रदर्शन गरिने एमालेको तयारी छ । मुख्य रुपले संसद पुनर्स्थापनाले नै समस्याको गाँठो फुक्दै जाने र सम्बिधान लिकमा आउने एमाले नेताले बताउने गरेका छन् ।

