भूमिका उपाध्याय,
बर्दिबास, ७ मङ्सिर ।
बर्दिबास उद्योग वाणिज्य सङ्घ (महोत्तरी) ले बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका छात्रछात्राको ‘पढ्दै कमाउँदै’ अभियानको सहयोगका लागि शैक्षिक सामग्री उपहार दिएको छ ।
आज आइतबार विद्यालय परिसरमै आयोजित समारोहबीच सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले अभियानका छात्रछात्रालाई सिलाइ सीप सिक्ने प्रयोजनका लागि दुई थान पाउदानसहितको लुगा सिउने कल प्रदान गर्नुभएको हो । अध्यक्ष खड्काले यो उपहार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु दोङ् तामाङ् र सहायक प्रधानाध्यापक सरोजकुमार मिश्रलाई हस्तान्तरण गर्नुभएको हो ।
जिल्लाकै पहिलो डिजिटल विद्यालय देउराली माविले कक्षा –८ र ९ का छात्रछात्राका लागि सीपयुक्त शिक्षाको अवसर बढाउन हाल साप्ताहिक सङ्गीत अभ्यास कक्षा सञ्चालनमा ल्याइसकेको छ । अब सहयोगी हातहरुबाट प्राप्त सीप शिक्षाका लागि प्राप्त सामग्रीबाट सिलाइ , बिजुली फिटिङ्ग र प्लम्बिङ्गका कक्षा सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयलाई यसअघि अन्य दाताबाट बिजुली फिटिङ्ग र प्लम्बिङ्गसम्बद्ध औजारबक्स प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोङ्ले जानकारी दिनुभयो ।

समारोहमा सङ्घका अध्यक्ष खड्काले सीपयुक्त शिक्षाले आत्मनिर्भरतालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । समारोहमा विद्यालयका सहायक प्रधानाध्यापक मिश्र, जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राजन गौतम , होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की र बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिब उत्तमकुमार श्रेष्ठसहितका वक्ताले सीपयुक्त शिक्षा अवलम्बनले विद्यार्थी मेहनती र आत्मनिर्भरताको बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा शिक्षक, विद्यार्थी र सामाजिक क्षेत्रका अगुवा र शिक्षाविद्हरुको उपस्थिति थियो । समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोङ्को अध्यक्षतामा सम्पन्न भएको हो ।


