बाहुन/क्षत्री महिला पनि घन्काउँदै नौमती बाजा

बर्दिबास (महोत्तरी), १५ मङ्सिर ।

“सीप र कला कुनै जातको हुँदैन, दमाहा बजाउँदा मलाई विशिष्ट काम गरेको महसुस हुन्छ” कम्मरमा बाधिएको दमाहा बजाउँदै गरेकी बर्दिबास–३ पाटुकी निरु पौडेल भन्नुहुन्छ, “सुरु सुरुमा त कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के काम गरेकी भनेर, तर म आफ्‌नो काममा लागी रहें, यसमा नाम, दाम दुबै पाएकी छु ।”

पाटुमा नौमती पञ्चे बाजा बजाउने समूहमा निरु एक्ली महिला हैनन् । क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ जाति समुदायका महिला पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कलाको कुरा हो । यसमा पोख्त भएका पारखीहरुले ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ विधिवत गठन गरेर नै बाजा बजाउने व्यवसाय अँगालेका छन् । “हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्यसैले यसको नाम नै ‘समावेसी’ शब्दबाट सुरु गरेका हौं” समूहका अध्यक्ष रमेश पौडेल खत्री (क्षत्री) भन्नुहुन्छ, “यहाँ सीप र कलाको कुरा हुन्छ ।”

पाटु बस्तीका १५ जना उत्साहीले सुरु गरेका यो समूहलाई मङ्सिर लागेयता सास फेर्ने फुर्सत छैन । “हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनौ, जम्मा १५ जनामात्र छौ, एकै समयमा यिनै मान्छे बाँडेर दुई ठाउँसम्म भ्याएका छौ” समूहका अध्यक्ष खत्री भन्नुहुन्छ, “कोही कुरा काट्ने पनि होलान् , तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सत छैन । भ्याइनभ्याइ छ ।” यो नेपाली लोकसंस्कृतिमा महत्वपूर्ण स्थान राख्ने नौमती पञ्चे बाजा बजाउने १५ जनाको समूहमा आठ जना महिला रहेका खत्रीले बताउनुभयो ।

“महिलाको सहभागिताले हाम्रो समूह विशिष्ट बनेको छ, महिला सहभागिताले हाम्रो परिचय विस्तारमा ठूलो मद्दत गरेको छ” खत्री भन्नुहुन्छ, “समूहका महिला सीपमा उतिकै पारङ्गत हुनुहुन्छ ।” समूहमा भाले दमाहा बजाउने सुभद्रा कार्की यो काम व्यवसायमात्र नभएर एउटा विद्रोह पनि भएको बताउनुहुन्छ ।

“हाम्रो पारम्परिक समाजमा महिलाले यो गर्नु हुदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले ‘दमाहा’ समाएका छौं, परम्परागत समाजमा यो विद्रोह पनि हो” कार्की भन्नुहुन्छ, “अब निरन्तर हामी काममा लागेपछि टिप्पणी गर्ने हराउँदै गएका छन् , हामी व्यवसायी बनेका छौं ।”

समूहकी भीममाया क्याप्छाकी मगर सनै (सहनाई) बजाउन थालेपछि सबै हेर्ने दर्शक मुग्ध देखिन्छन् । “हैन , कस्तो राम्रो मिलेको यिनीहरुको सुरताल” आइतबार बर्दिबास–१ को विवाह समारोहमा यो समूहको प्रस्तुती हेर्नुभएका स्थानीय भक्त भण्डारी भन्नुहुन्छ, “यिनीहरुको कामप्रतिको समर्पण र लगाव तारिफ योग्य छ ।”

केही महिना पहिलेमात्र समूह विधिवत बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारले शुल्कमा पनि आफ्‌नो ठाउँलाई विशेष छुट दिने गरेका छन् । बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबास नगरपालिकाका अन्य १३ वडामा ५५ हजार र बर्दिबासबाहिर ६५ हजार । “हाम्रो शुल्कमा कसैले चित्त कुँडाएका छैनन् , बरु जसरी भएपनि समय मिलाइ दिनोस् भन्छन्‌” अध्यक्ष खत्री भन्नुहुन्छ, “यसरी प्राप्त हुने पारिश्रमिकमध्ये दुई प्रतिशत बाजा मरमतसम्भार कोष र एक प्रतिशत समूह कोषमा छुट्याइ बाँकी आपसमा बाँड्ने गरेका छौं ।” विवाह तथा व्रतबन्धजस्ता शुभकार्य गरिने महिनामा यो काम र बाँकी महिना आफ्‌ना घरगृहस्थीका काममा लाग्ने गरिएको खत्रीको भनाइ छ । खासमा विवाह बाक्लै हुने वैशाख, जेठ, असार, मङ्सिर, माघ र फागुनका लागि पहिलेदेखि नै समय मिलाइ दिन अनुरोध आउने गरेको खत्रीको भनाइ छ ।

समूह सेवाका लागि कुनै धर्म परम्पराको परहेज पनि मान्दैन । “हामीलाई मुस्लिमले बोलाउन् वा इसाईले, हामी सबैको स्नेहपूर्ण सम्झनालाई उतिकै सम्मान गर्छौ” खत्री भन्नुहुन्छ, “यद्यपि नौमती पञ्चे बाजाको परम्परा खासमा हिन्दू संस्कृति मान्नेहरुमा बढी छ, अहिलेसम्म हामीलाई हिन्दू परम्परा मान्नेले नै नै बोलाएका छन् ।”

यो समूहमा आबद्ध भएदेखि घरायसी नगद खर्चको जोहो यसै कामबाट मिल्ने गरेको झ्याली बजाउने जानुका विक बताउनुहुन्छ । यो छोटो अवधिमै यो समूह मधेशका सबै जिल्लामा पुगेको आबद्ध कलाकार बताउनुहुन्छ । “मधेशका सबै जिल्ला पुग्यौ, जहाँजहाँ पुग्छौ, त्यहाँ ‘हामी बोलाउँछौ, तपाइँहरु आइदिनु होला’ भन्ने भेटेका छौं” समूहकी सनै वादक (बजाउने) अञ्जना तामाङ् भन्नुहुन्छ, “आम मान्छेको यस्तो स्नेहले कामप्रति झन् उत्साह बढाएको छ ।” मधेशका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र वागमतीको सिन्धुलीका कैयन समारोहमा सरिक भइएको उहाँले बताउनुभयो ।

परम्परागत समाजमा दमाईँ जातको काम बुझिने नौमती पञ्चे बाजा बजाउन यो समूहमा विभिन्न जातका महिला र पुरुषको आबद्धताले समाजमा जातीय छुवाछुत र उचोनीचो मानिने सोचलाई फेर्न सहयोग पुर्‍याएको पाटु बस्तीकै बासिन्दा पेसाले पत्रकार विशाल बस्नेतको प्रतिकृया छ । “यो समूहले थालेको कामले अब कुनैपनि सीप र कला जातको बन्धनमा छैन भन्ने दृष्टान्त दिएको छ” बर्दिबास नगर पत्रकार सञ्जालका सचिबसमेत रहनु भएका बस्नेत भन्नुहुन्छ, “यिनको कामप्रतिको निष्ठाको सबैपक्षबाट सम्मान गरिन पर्छ ।”

सुरुका दिनमा केही नकारात्मक टिप्पणी सुनिएपनि विस्तारै आफ्‌नो कामलाई आम मान्छेले सकारात्मक हौसला दिएका समूहका कलाकारको भनाइ छ । आफ्‌नो समूहप्रति अब आफ्‌नै बस्ती र वरपर छरछिमेकका युवा पुस्ताले चाख बढाउँदै लगेका अध्यक्ष खत्री बताउनुहुन्छ । यो चासोले कामप्रति झनबढी विश्वास जगाएको समूहमा आबद्ध भएका कलाकार बताउँछन् ।


२०८२ मंसिर १५, सोमबार १०:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय