नेपालवाणी डटकम
जनकपुरधाम, मंसिर ।
मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका छन् । मधेश प्रदेशसभाबाट राजिनामा घोषणा गरेका मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभलाई प्रदेश प्रमुखको कार्यालय मधेश भवनमा राजिनामा बुझाएका हुन् । रोष्टमबाट विश्वासको मत माग्ने क्रममा आफ्नो वक्तव्य राख्दै उनले राजिनामा घोषणा गरेका मुख्यमन्त्रीले औपचारिक राजिनामा प्रदेश प्रमुख कर्णलाई बुझाएका हुन् ।
राजिनामा पत्रका भनिएको छ, ‘जनताको विश्वास र मतवाट निर्वाचित भई संवैधानिक बाध्यताका बीच मेरो नेतृत्वको सरकार सानो कार्यकाल रहेको अवस्थामा प्रदेशको मुख्यमन्त्री पदमा रहँदा प्रदेशवासी जनताको गुनासो सुन्दै, अन्नदाता किसान, बेरोजगार युवाहरु, श्रमजीवी, दलित तथा मुस्लिमहरुको लागि, अति आवश्यक निर्णयहरु गर्दै मधेशको विकास, सुशासन र समृद्धिको प्रयास जारी रहनेछ । सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’
मुख्यमन्त्री यादवले पत्रमा प्रदेशको शान्ति, विकाससँगै संविधान र संघीयताको संरक्षणका लागि निरन्तर योगदान दिइरहने प्रतिवद्धता व्यक्त गर्दै भविष्यमा पनि म जनताको पक्षमा रहिरहने प्रतिज्ञा व्यक्त गरेको छ ।
संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम विश्वासको मत लिन पुगेका मुख्यमन्त्री यादवले राजिनामा दिएका हुन् ।

