गोपाल बराल,
बर्दिबास (महोत्तरी), १७ मङ्सिर ।
बर्दिबास–१० खयरमाराका बौद्धिक अपाङ्गता भएका १३ वर्षीय दिव्यांशु थापा आज बुधबार निकै खुसी र चञ्चल देखिए । बर्दिबास–२ स्थित सी आशा फाउण्डेशनले बौद्धिक अपाङ्गता भएका हरुका लागि सञ्चालन गरेको आशा विशेष पाठशाला तथा पुनर्स्थापनाकेन्द्रमा आज ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा खुसी देखिएका हुन् । थापाले आज कक्षा कोठाको स्मार्टबोर्डमा विभिन्न चित्र कोरे । आज पाठशालामा बिहानैदेखि आयोजित अतिरिक्त कृयाकलापमा सहभागी भएदेखि नै थापासहितका ससाना छात्रछात्रा खुसी देखिएका हुन् ।
“नानीबाबुहरुले आज सामुहिक खेलमा सरिक हुने , नाच्ने र चित्रको नक्कल गर्न खुबै रुचाए” पाठशालाका व्यवस्थापक वर्षा ढुङ्गेल भन्नुहुन्छ, “भर्खर त यिनीहरुको पाठशालामा आउजाउ सुरु भएको छ, तर थोरै दिनमा पनि यिनीहरु रमाएका छन् ।” थापामात्र नभएर सबैजसो बालबालिका केहीनकेही कृयाकलापमा सकृय रहेका देखिन्छन् । यो पाठशाला भवन निर्माण कार्य सम्पन्न भएपछि यसै मङ्सिर १ गते सञ्चालनमा ल्याइएको हो ।
पाठशालामा अहिले बौद्धिक अपाङ्गता भएका १५ जना बालबालिका छन् । जसमा १० जना बालक र पाँच जना बालिका छन् । यिनमा पाँच वर्षदेखि १५ वर्ष उमेरसम्मका बालबालिका छन् । विभिन्न प्रकृतिका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सिर्जनशील अभ्यासबाट लेख्ने, बोल्ने र साथीहरुबीच मिलेर खेल्ने अभ्यास गराउन चार शिक्षक र एकजना फिजियोथेरापी गराउने शिक्षक हुनुहुन्छ । भर्ना भएका बालबालिकामा बौद्धिक अपाङ्गता भएका , शरीरका विभिन्न अङ्ग नचल्ने र अटिजम (स्वलीनता) समस्या रहेको पाठशाला व्यवस्थापक ढुङ्गेल बताउनुहुन्छ ।

पाठशाला नियमित आउजाउ गर्न थालेपछि यी बालबालिकाको आनीबानीमा निकै सुधार भएको छ । “अब त मेरो बाबु (छोरा) लगाएको लुगामा कतै अलिकता फोहर देखिएपछि सफा गर्न लगाउँछ” बर्दिबास–१० खयरमाराका पाठशालाका छात्र इभान्स गोलेकी आँमा इन्दिरा गोले भन्नुहुन्छ, “दिनभरिको अभ्यासले होला साँझ घर फर्केपछि पनि उ विद्यालयमा गरिएका अभ्यासको नक्कल गर्छ ।” एकोहोरोजस्तो कसैको कुरा वास्ता नगरेर आफ्नै मगनमा (स्वलीनता) रहने बानीको छोरामा केही दिनभित्रै आशलाग्दो सुधार भएको गोलेको भनाइ छ ।
पाठशालाको अहिले छात्राबास नहुँदा सबै बालबालिका आफ्नै घरबाट आउजाउ गर्छन् । “बिहान साढे नौ बजेदेखि दिउँसो साढे तीन बजेसम्म बालबालिका पाठशालामा रहन्छन्” पाठशाला व्यवस्थापक ढुङ्गेल भन्नुहुन्छ, “घरबाट ल्याउने पुर्याउने भने पाठशालाकै बस छ ।” अहिले पाठशालामा महोत्तरी, धनुषा र सर्लाहीका बालबालिका छन् । बालबालिकालाई पाठशालाले दिवा खाजा र खाना खुवाउने प्रबन्ध गरेको छ ।
बौद्धिक अपाङ्गता भएका, स्वलीनता (अटिजम) भएका र बोल्न नसक्ने र शारीरिक अङ्ग नचल्ने बालबालिकाका लागि यो पाठशाला एउटा आशाको दियो बनेको अभिभावक बताउँछन् । “आफ्ना सन्तानलाई भार भन्ने कुरा त भएन, तर यिनलाई कसरी जोगाउने, टिकाउने भन्ने चिन्ता हुन्थ्यो” बर्दिबास–२ बुद्धचोककी पाँच वर्षीया पाठशालाकी छात्रा नव्या गजमेरका पिता सरोज गजमेर भन्नुहुन्छ, “यो पाठशालाले अहिले नयाँ आश जगायो, अब छोरीमा निकै सुधार देखिन थालेको छ ।”
फाउण्डेशनले मुलुकका सात प्रशेशमा एक/एक यस्ता पाठशाला बनाउने नीतिअनुसार मधेशका लागि बर्दिबास–२ मा भवन निर्माण गरेर कक्षा सञ्चालनमा ल्याएको हो । पाठशाला निर्माणका लागि बर्दिबास नगरपालिकाले उपलब्ध गराएको एक बिघा जग्गामा मधेश प्रदेश सरकारको सहयोगले भवन निर्माण र चारैतिरको पर्खाल लगाउने कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । “अब आफ्नै परिसरभित्र छात्राबास निर्माण गर्न सकिए बालबालिकालाई यहीं राख्न सकिन्थ्यो” पाठशालाका कार्यकारी निर्देशक रुपा कार्की भन्नुहुन्छ, “छात्राबास भएपछि मधेशभित्रकै टाढाटाढाका पनि यस्ता बालबालिका राख्न सकिन्छ ।” अहिले सपतरी, सिरहा, रौतहट, बारा र पर्साका कतिपय बौद्धिक अपाङ्गता भएका बालबालिका सम्पर्कमा भएपनि छात्राबास नहुँदा भर्ना गर्न नसकिएको उहाँको भनाइ छ । या लागि स्थानीय सरकार, प्रदेश सरकार र सहयोगी संस्थाहरुको चासो आवश्यक रहेको कार्की बताउनुहुन्छ ।
स्पेनिस नागरिक अयना बार्का न्यौपानेको संरक्षण र प्रेरणाले स्थापित फाउण्डेशनको यो तेस्रो पाठशाला हो । यसअघि ललितपुर र मकवानपुरमा पाठशाला बनेर सञ्चालनमा आइसकेका छन् । मधेशका आठवटै जिल्लालाई लक्षित गरी स्थापित यो विद्यालयमा अहिले निर्मित भवनमा प्रशासनिक भवन, भान्सा, कक्षा कोठा , क्रिडाभवनसहित पाँच कोठा छन् । पाठशालाको थप भौतिक पूर्वाधारसहितका काम र छात्राबास निर्माणमा बर्दिबास नगरपालिकाले पहलकदमी लिने बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले प्रतिबद्धता जनाउनु भएको छ ।

