बर्दिबास, ६ पुस ।
बर्दिबास–१४ स्थित गौतम होटलले बर्दिबास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षाका लागि तीन लाख ११ हजारको अक्षय कोष प्रदान गरेको छ । होटलका सञ्चालक हिरालाल गौतमले शनिबार आफ्नो ५० औं जन्मदिनको अवसर पारेर मुसहर बालबालिकाको शिक्षामा खर्च हुने गरी स्थापना गरिन मुसहर बस्तीका शिक्षा अभियानी मञ्जय सदा मुसहरसहितका बालबालिकालाई तीन लाख ११ हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेर विक्रम सम्वत् २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको ५२ घरको बस्तीका बालबालिकाको शिक्षामा खर्च गरिने गरी गौतम होटलले अक्षय कोष स्थापनाका लागि यो रकम प्रदान गरेको हो । शिक्षामा धेरै पछि परेको मुसहर समुदायका बालबालिकाको शैक्षिक सामग्री, औपचारिक पोसाक र आपदविपदमा सहयोग पुग्ने गरी स्थापना हुने अक्षय कोषका लागि यो रकम प्रदान गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्षसमेत रहनु भएका गौतमले स्पष्ट पार्नुभयो ।

“जिल्लाभरिकै तथ्याङ्कले मुसहर शैक्षिक, सामाजिक, राजनैतिक र आर्थिक रुपमा निकै पछि परेको जाति समुदाय देखिन्छ, हामीले यिनको उत्थानका लागि शिक्षा पहिलो प्राथमिकता हुने ठानेर यो रकम प्रदान गरेका हौं” गौतमले भन्नुभयो । यो रकममा आफूमात्र नभइ होटलका १३० जना कामदारको पनि योगदान मिसिएको उहाँले स्पष्ट पार्नुभयो ।
२०७४ सालमा ५२ घरमा २०० हाराहारीको जनसङ्ख्या रहेको यो मुसहर बस्तीमा त्यसयता भिन्न भइ बस्ने बढ्दै गएर अहिले ७५ परिवार भन्दा बढी छन् । यहाँको करिब ३०० जनसङ्ख्यामा एक जना युवा मञ्जय सदाले स्नातक उत्तीर्ण गरेका छन् । अन्य बालबालिका विद्यालय पुर्याउन र टिकाउन निरन्तर प्रयत्न भइरहे पनि यहाँबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गर्ने थपिन नसकेका बस्तीका शैक्षिक अभियानी मञ्जय सदा बताउनुहुन्छ । “अरु कैयन सामाजिक समस्या त छँदैछन् , मुख्यचाहिँ गरिबीकै कारण किशोर अवस्थाको प्रारम्भमै बनीबुतो (मजदुरी) गर्न थाल्ने हुँदा यहाँको शिक्षा उक्सन सकेको छैन” सदा भन्नुहुन्छ, “यो अक्षय कोषले बस्तीका बालबालिकालाई शैक्षिक गतिविधिमा सरिक गराउन सहयोग पुग्नेछ ।”
गौतम होटलले यो कोषमा बर्सेनि एक लाख थप्दै जाने घोषणा गरेको छ । यसअघि आफ्नो होटल परिवारबीच नमुना बस्तीकै लागि ‘गौतम होटल शिक्षा अक्षय कोष’ नाउँ दिएर परिवारभित्रबाट सङ्कलन भएको एक लाख २० हजार रकमबाट मुसहर बालबालिकाको पोसाक, स्कुलब्याग (कापी पुस्तक राख्ने झोला) र कापी, सिसाकलमसहितका शैक्षिक सामग्री प्रदान गरेको थियो । बस्तीबाट अहिले ५० जना बालबालिका विद्यालय आउजाउ गरी रहेका सदाको भनाइ छ ।

मुसहर जातिमा यो पछौटेपन यहाँ (नमुना मुसहर बस्ती) मात्र नभइ जिल्लाभरिमै उस्तै देखिन्छ । विक्रम सम्वत् २०७८ सालको पछिल्लो राष्ट्रिय जनगणनाले जिल्लामा २७ हजार ३५२ मुसहर देखाएको छ । यो जिल्लाको कूल जनसङ्ख्या सात लाख छ हजार ९९४ को ३.८७ प्रतिशत रहेको जिल्ला तथ्याङ्क कार्यालय महोत्तरीले जनाएको छ ।
मुसहरको यो जनसङ्ख्याभित्र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने अझै ५० सङ्ख्या नाघ्न सकेको छैन । उच्च शिक्षामा प्रवेश गर्ने त २० मुनि रहेका जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्ण बताउनुहुन्छ । यो जाति समुदायलाई शिक्षामा जोड्न आर्थिक गतिविधिमा सँगसँगै डोर्याउने गरी कार्यक्रम बन्न आवश्यक रहेको कर्णको ठम्याइ छ ।


