महोत्तरी, १५ पुस ।

दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले नगर बस्तीहरुमा दाउराका मुडा वितरण थालेको छ । नगरपालिकाका नौ वटै वडाका बस्तीबस्तीका चोक, बजार , सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयहरुमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण सोमबार थालिएको नगरप्रमुख सञ्जिवकुमार साहले बताउनुभयो ।

“जाडो निकै बढ्यो, तत्काल राहतका लागि दाउरा वितरण थाल्यौ, पहिलो चरणमा सोमबार साँझसम्म नौ वटै वडाका सबै बस्तीमा पुर्‍याइएको छ” नगरप्रमुख साहले भन्नुभयो, “यसले यो शीतलहरमा जिउ तताउन थोरै राहत दिनेछ ।” बस्तीबस्तीमा सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाका सशस्त्र प्रहरीका जवानसहितको वितरण टोलीले ठाउँठाउँमा दाउराका मुडा झार्दै आगो सल्काइने गरिएको साहले जानकारी दिनुभयो ।

दाउरा वितरणसँगै जारी शीतलहरमा गरिब बस्तीमा थप राहतको आवश्यकता रहेको उहाँको भनाइ छ । यस कार्यमा सहयोग समन्वय बढाइ दिन उहाँले विभिन्न सामाजिक सङ्घसंस्था ,जिल्ला विपद व्यवस्थापन समिति र राज्यका निकायहरुसँग अपिल गर्नुभएको छ । “हाम्रो नगर क्षेत्रमा मुसहर, बाँतरसहितका अत्यन्त गरिब बस्ती धेरै छन् , यो अप्ठ्यारो बेलामा यस्ता बस्तीमा थप राहतको जरुरी छ” साह भन्नुहुन्छ, “यस कार्यमा सहयोग गर्न सबैपक्षसँग अनुरोध छ ।” शीतलहरको यो प्रकोपमा दाउराको रापिलो आगोमा जिउ तताउन पाएपछि सर्वसाधारणले केही राहत महसुस गरेका छन् ।

जिल्लामा यसपालि पुस ३ गते सुरु भएको शीतलहर पछिल्ला तीन/चार दिनयता झनझन बढ्दैछ । जिल्लाको सुदुर उत्तरी भेगका बर्दिबास र गौशाला नगरक्षेत्रका पूर्वपश्चिम राजमार्ग आसपासका बस्तीमा त्यसयता एकाध दिन मध्यान्हपछि झल्याकझुलुक घाम देखिएपनि मध्य र दक्षिणी भेगमा घाम देखिएको छैन । गत शनिबारयता बर्दिबास र गौशालाका यी भेगमा पनि घाम नदेखिएको गौशाला–८ सँग सीमा जोडिएको बर्दिबास–५ का वडाध्यक्ष काहारमान स्याङ्वाले बताउनुभयो ।

चारैतिर डम्म बाक्लो हुस्सुले ढाकेर लगलगी मुटु कमाउने जाडो बढी रहेपछि जिल्लाका सबै क्षेत्रमा दाउराको माग बढेको छ ।


२०८२ पुष १५, मंगलवार १५:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय