अघिल्लो निर्वाचनमा म विद्यार्थी जीवनमै थिएँ। त्यसैले निर्वाचनलाई त्यति गहिरो महत्वका साथ बुझ्न सकिनँ। तर समयसँगै बुझ्दै जाँदा, देशमा निर्वाचनको मूल उद्देश्य कुशल, इमानदार र उत्तरदायी नेतृत्व चयन गर्नु नै हो भन्ने बोध हुँदै गएको छ। निर्वाचनमार्फत भताभुंग भएको देशको राजनीतिक अवस्था र विद्यमान कानुनी जटिलताहरूको समाधान खोजिनु पर्दछ भन्ने अपेक्षा छ।

निर्वाचनमार्फत कानूनी शासन स्थापित भई प्रतिकूल अवस्थाबाट देश अनुकूलता तर्फ अघि बढोस्, देशमा शान्ति, अमन र चयन कायम रहोस् भन्ने चाहना छ। साथै, हरेक नागरिकले आफ्नो गाँस, बास र कपासका लागि भौतारिन नपरोस्, सम्मानजनक जीवनयापन गर्न सकोस् भन्ने अपेक्षा पनि उत्तिकै छ।

यद्यपि, प्रत्येक निर्वाचनसँगै नयाँ आशा जन्मिए पनि, चुनावपछि साँच्चै नयाँपन आउने हो कि होइन, फेरि पनि पुरानै राजनीतिक विरासत र शैली दोहोरिने त होइन भन्ने द्विविधा आज पनि मनमनमै विद्यमान छ।

यही सन्दर्भमा, राजनीतिमा युवाको नेतृत्वले सम्पूर्ण राजनीतिक संरचना र सोचको गतिशीलता परिवर्तन गर्न सक्ने ठूलो सम्भावना बोकेको हुन्छ। नयाँ सोच, ऊर्जा, नवप्रवर्तन र जवाफदेहितासहित अघि बढ्ने युवा नेतृत्वले देशको विकासलाई नयाँ दिशातर्फ डोऱ्याउन सक्छ।

यसका साथै, नागरिकहरूले आफ्नो मतको मूल्य र महत्व बुझ्ने समय पनि यही हो। सचेत, जिम्मेवार र संवेदनशील मत प्रयोगले मात्र योग्य र सक्षम नेतृत्वलाई अघि ल्याउन सकिन्छ। जब नागरिक आफ्नो मतप्रति सचेत हुन्छन्, तब युवानेतृत्वलाई अगाडि आउन, जिम्मेवारी लिन र नेतृत्व सम्हाल्न थप हौसला र अवसर मिल्छ। त्यसैले, मतको संवेदनशीलता नै समावेशी, सक्षम र दूरदर्शी नेतृत्वको आधार हो भन्ने बुझाइ सबैमा विकसित हुनु आवश्यक छ।

निशा कर्ण
जनकपुरधाम


२०८२ पुष २३, बुधबार १०:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय