नेपालवाणी नेटवर्क
जनकपुरधाम, पुस ।
मधेशमा चारजना राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको लागि ११ जनाको मनोनयन दर्ता भएको छ । आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट ११ जनाको मनोनयन दर्ता भएको हो ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय मधेश प्रदेशमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारी अन्य तर्फको कोटाबाट दर्ता भएको हो । उनको प्रस्तावकमा लोसपाका मधेस प्रदेशसभा सदस्य जयनुल राईन रहेका छन् भने समर्थकमा पनि लोसपाकै प्रदेशसभा सदस्य एवं मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी रहेकी छन् ।
मधेश प्रदेशमा नेकपाबाट चारजनाको उम्मेदवारी दर्ता भएको छ । अल्पसंख्याक तर्फ रौतहटका रामानन्द प्रसाद, अन्य तर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलित तर्फ सर्लाहीका शम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो । राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गठबन्धन नभएपनि नेकपाले छुट्टै उम्मेदवारी दिएको हो ।
यसैगरी मधेशमा चारजना राष्ट्रिय सभा सदस्यकाले लागि हुने निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट एक÷एक जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसबाट अल्पसंख्यक तर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलित तर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको हो । यस्तै महिला तर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन् ।
जनकपुर स्थित निर्वाचन कार्यालयमा उनीहरुले मनोनयन दर्ता गराएका छन् । यस्तै खुल्लाबाट सो गठबन्धनले जसपाको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । अल्पसंख्याकमा उम्मेदवारी दर्ता गराउने कर्ण संविधानसभा सदस्य र नेविसंघका पूर्व केन्द्रीय सभापति हुन् । दलित तर्फका पासवान भने दलित संघका केन्द्रीय सदस्य हुन् ।
यस्तै महिला तर्फ उम्मेदवारी दिने एमालेकी झा २०७४ र २०७९ मा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी थिइन् । एमाले प्रदेशक कमिटी सदस्य हुन् । मधेश प्रदेशमा चारवटा दलित, अल्पसंख्यक÷अपाङ्ग, महिला र अन्य सिटमा निर्वाचन हुँदैछ । मधेश प्रदेशमा प्रदेशसभा तर्फ १०४ जना र स्थानीय तहतर्फ २६६ गरि ३७० जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ५३ छ भन्ने २६६ जना पालिका प्रमुख र उपप्रमुखको मतभार प्रति व्यक्ति १९ छ । मधेशको कूल मतभार १०८३९ रहेको निर्वाचन आयोगले जनाएको छ ।

