बर्दिबास, ३० पुस ।

अनेरास्ववियुको मेची–महाकाली विद्यार्थी जागरण यात्राले आज बुधबार बर्दिबासमा वृहत् साँस्कृतिक कार्यक्रमसँगै विद्यार्थीलक्षित जागरणसभा सम्पन्न गरेको छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, महासचिब अञ्जना सिवाकोटी र सचिब समिमबाबु पठानसहितका पदाधिकारीको उपस्थितिमा वृहत् साँस्कृतिक कार्यक्रमसँगै जागरणसभाको कार्यक्रम सम्पन्न भएको हो । यो अनेरास्ववियुको मधेश प्रदेश स्तरीय कार्यक्रम रहेको जानकारी दिइएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता नेकपा एमालेका मधेश संयोजक लीलानाथ श्रेष्ठले विद्यार्थीहरुले विषयगत विशिष्टता हासिल गर्नसँगै मुलुकको लोकतान्त्रिक आन्दोलन र सम्बिधान संरक्षणबारे चासो राख्नपर्ने बताउनुभयो । “अध्ययनका क्रममा विषयगत विशिष्टतालाई प्रमुख महत्व दिइनु पर्दछ” पूर्वमन्त्री श्रेष्ठले विद्यार्थीसँग भन्नुभयो, “यससँगै मुलुकको राजनीति र सम्बिधानबारे विद्यार्थीले चासो राख्नु पर्दछ ।” मुलुकको राजनीति सङ्ल्याउन यो भूमिकाले सहयोग गर्ने उहाँले बताउनुभयो ।

बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसमा सम्पन्न कार्यक्रममा पूर्व विद्यार्थी नेता तथा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोज यादवले विद्यार्थीले राजनीतिक चासो राख्नु हुन्न भन्ने मत उचित नभएको स्पष्ट पार्नुभयो । यद्यपि विषयगत उत्कृष्टता हासिल गर्ने कुरा सधैं पहिलो महत्वको हुने उहाँको भनाइ थियो । कार्यक्रममा नेकपा (एमाले) का मधेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल र एमाले नेता शङ्कर महतोले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बर्दिबास जनता बहुमुखी क्याम्पसका छात्राहरुले विभिन्न स्थानीय लोकसाँस्कृतिक कार्यक्रम प्रस्तुती गरेका थिए । समारोहमा अनेरास्ववियुका अध्यक्ष धामीले सातवटै प्रदेशका एक/एक ठाउँ जागरणसभा गरिने निर्णयअनुसार विद्यार्थी हकहितका विषयमा सचेतना र सबैका लागि शिक्षाको अवसर सुनिश्चित गरिन दवाव बढाउनु यात्राको उद्देश्य रहेको बताउनुभयो । अनेरास्ववियुले मधेशसहित कोशी, लुम्बिनी, वागमती र सुदुरपश्चिम प्रदेश गरी पाँच प्रदेशमा जागरणसभा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम अनेरास्ववियु मधेश प्रदेशका संयोजक सतिशचन्द्र सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।


२०८२ पुष ३०, बुधबार १८:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय