नेपालवाणी डटकम
जनकपुरधाम, माघ ।
नेपाली कांग्रेस मधेस प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापति बनेको विषयमा निर्वाचन आयोगले दिएको आधिकारिक मान्यतालाई स्वागत योग्य भएको बताए । उनले आयोगको निर्णयले पार्टीभित्रको अन्योल अन्त्य भएको र अब नेपाली कांग्रेस नयाँ उत्साहका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।
गुप्ताले नेपाली कांग्रेसभित्र पुस्तान्तरणको ऐतिहासिक सुरुवातको रूपमा व्याख्या गरे ।
उनले अब युवा पुस्ताले देशको राजनीतिक नेतृत्व पाउने वातावरण बनेको र पार्टीलाई थप मजबुत बन्ने दाबी गरे । उनले भने, “नेपाली कांग्रेसमा अब फुट हैन, हामी सबै कांग्रेसी एकजुट हुनुपर्छ ”
मधेस प्रदेशमा नेपाली कांग्रेसप्रति जनलहर आउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताउँदै गुप्ताले पार्टी संगठनलाई थप सुदृढ बनाइने जानकारी दिए । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका सम्पूर्ण जिल्लामा प्रचार–प्रसार अभियानलाई व्यापक बनाइने जानकारी दिए ।
त्यसैगरी, राष्ट्रिय सभाको निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पार्टी सम्पूर्ण शक्ति प्रयोग गरेर लाग्ने गुप्ताको भनाइ छ। पार्टी नेतृत्व, कार्यकर्ता र समर्थकबीच समन्वय गरेर कांग्रेसलाई निर्वाचनमा सफल बनाइने स्पष्ट पारे ।
नेपाली कांग्रेस अब युवा नेतृत्व, एकता र लोकतान्त्रिक मूल्यको आधारमा अघि बढ्दै मधेस प्रदेशमा आफ्नो जनआधार अझ फराकिलो बनाउने दिशामा केन्द्रित रहेको प्रचार–प्रसार विभाग प्रमुख गुप्ताले बताए ।

