बर्दिबास (महोत्तरी) १७ फागुन ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महोत्तरी–१ का उमेद्वार लक्ष्मी महतो कोइरीले पार्टीको केन्द्रीय घोषणापत्र र स्थानीय प्रतिबद्धता आज आइतबार एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको छ । बर्दिबास–३ गौरीडाँडामा सम्पन्न कार्यक्रममा उमेद्वार कोइरी र सो दलका केन्द्रीय अनुशासन आयोगका सदस्य र केन्द्रीय सल्लाहकारसहितका नेताले घोषणापत्र र प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । मतदानका लागि चार दिनमात्र बाँकी छदा सो दलले आज घोषणापत्र र प्रतिबद्धता सार्वजनिक गरेको हो ।
पार्टीको २५ बुँदे घोषणापत्रका साथै कार्यक्रममा आठ बुँदे स्थानीय प्रतिबद्धता सार्वजनिक गरिएको हो । स्थानीय प्रतिबद्धतामा गुणस्तरीय र सीपयुक्त शिक्षामा जोड दिइएको छ । यसैगरी सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढाउँदै बर्दिबास मेडिकल कलेज निर्माण कार्यलाई तत्काल अघि बढाइने उल्लेख छ । स्थानीय प्रतिबद्धतामा कृषि , पर्यटन र खेलकुदको संस्थागत विकास गरिने प्रतिबद्धता जनाइएको छ ।
यस्तै सो दलले वन तथा प्राकृतिक स्रोतको संरक्षण, पूर्वाधार विकास र खानेपानीको समुचित व्यवस्थापन एबं जलाधार क्षेत्रको संरक्षणको पहलकदमी लिइने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा उमेद्वार कोइरीले विध्वंशबाट मुलुक नबन्ने बताउँदै आफ्नो दल राष्ट्रिय सम्प्रभुताको रक्षा गर्दै आर्थिक समृद्धितर्फ उन्मुख हुने स्पष्ट पार्नुभयो । कार्यक्रममा सो दलका केन्द्रीय अनुशासन आयोगका सदस्य दुर्गा दाहाल र केन्द्रीय सल्लाहकार परिषद सदस्य मदन ढुङ्गेलले मुलुकको समृद्धिको अभियानको नेतृत्व आफ्नो दलले मात्र गर्नसक्ने दाबी गर्नुभयो । कार्यक्रम सो दलको महोत्तरी–१ निर्वाचन परिचालन कमिटीका संयोजक तथा मधेश प्रदेशसभा सदस्य शारदा थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

