भूमिका उपाध्याय,
बर्दिबास, १८ ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–१ बाट उज्यालो नेपाल पार्टीका उमेद्वार मनोजकुमार गुप्ताले आफ्‌नो उमेद्वारी निश्कृय गर्दै नेकपा (एमाले) का उमेद्वारलाई समर्थनको घोषणा गर्नुभएको छ । आज सोमबार बर्दिबासस्थित एमालेको निर्वाचन परिचालन कमिटीको कार्यालय पुग्नु भएका गुप्ताले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो घोषणा गर्नुभएको हो ।

गुप्ताको यो घोषणाले एमाले पङ्ति उत्साहित बनेको छ । गुप्ताले समर्थन गर्नुभएका एमाले उमेद्वार लक्ष्मी महतो कोइरी यसअघि २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट तत्कालीन नेकपा माओवादीकेन्द्रका उमेद्वार गिरिराजमणि पोखरेललाई पराजित गरी निर्वाचित हुनु भएको थियो । अहिले नेकपा (एमाले )े, नेकपा, नेपाली काँग्रेस र रास्वपासहितका दलहरुबीच कडा टक्कर हुने अनुमान भइरहेबीच गुप्ताको घोषणाले एमाले पङ्तिमा उत्साह छाएको हो ।

आफ्‌नो उमेद्वारी निश्कृय बनाउनुभएका गुप्ताले नेकपा (एमाले) का उमेद्वार कोइरीलाई समर्थनपत्र प्रदान गर्नुभयो । सो अवसरमा नेता गुप्ताले एमालेको पक्षमा मतदान गर्न यस क्षेत्रका बासिन्दासँग अपिल गर्नुभयो । “अहिलेको राष्ट्रिय आवश्यकता र जनताको दीर्घकालीन हितलाई आत्मसाथ गरेर म एमालेका उमेद्वारलाई समर्थन गर्ने टुङ्गोमा पुगेको हुँ” गुप्ताले सङ्क्षिप्त प्रतिकृयामा भन्नुभयो, “यो मेरो निर्णयले राष्ट्रको स्वाधीनता , संविधानको रक्षा , सुशासन र महोत्तरीको विकासमा सघाउ पुर्‍याउने विश्वास गरेको छु ।” गुप्तासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका भङ्गाहा नगरपालिका–९ का नेता बिरु खानले पनि रास्वपा छाडेर एमालेमा समाहित भएको घोषणा गर्नुभयो ।

उमेद्वारी निश्कृय बनाउनुभएका गुप्ता र रास्वपा नेता खानलाई एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादव, केन्द्रीय अनुशासन आयोगका सदस्य दुर्गा दहाल र उमेद्वार लक्ष्मी महतो कोइरीसहितले स्वागत गर्दै निर्वाचन अभियानको महायज्ञमा साथ सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । दुबै नेतालाई अब उपयुक्त जिम्मेवारी दिएर पार्टीमा सङ्गठित गरिने एमाले केन्द्रीय सदस्य यादवको भनाइ छ ।


२०८२ फाल्गुन १८, सोमबार १७:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय