महोत्तरी, २७ फागुन । यसपालि महोत्तरीसहितका मधेशमा आँपका बोट मज्जर (मञ्जरी) ले ढपक्क छन् । पात र हाँगाबिंगा छपक्कै छोपेर आँप मजरेको भएपनि किसान भने विरक्त छन् । आँप मज्जाले मजरे पनि (फुलेपनि) सिङ्गै हिउँद पानी नपरी बित्दा अब मज्जरमा मधुवा (आँपको फूलमा लाग्ने एकप्रकारको डढुवा रोग) लाग्ने किसानको चिन्ता छ । फलफूल खेतीका किसान अहिले वर्षा नहुँदा दिक्दार छन् ।

“हेर्नोस न, पात, हाँगा केही नदेखिनेगरी मज्जरले ढाकेको छ, तर पानी पर्न नसक्दा अब फूल (मज्जर) मा मधुवा लाग्ने डर छ” आफ्‌नो एक बिघाबढीको आँप बगैंचा देखाउँदै भङ्गाहा–४ रामनगरका किसान हरिदेव साह भन्नुहुन्छ, “पानी नपरे मधुवाले डढाएर सखाप पार्छ ।” आँपमा मज्जर लाग्नासाथै पर्ने पानीले हाँगाबिंगा र पात मज्जाले पखालिने, सुकेका पात झर्ने र मज्जर सफा हुनेहुँदा अहिले किसानलाई पानी कहिले पर्छभन्ने पर्खाइ छ ।

आँप मधेशको मुख्य फल मानिन्छ । सामान्यतया वर्ष बिराएर (अफइयर) फुल्ने आँप यसपालि मज्जाले मजरेको छ । अहिलेको मज्जर अडिएर टिकोला (चिचिला) लाग्ने हो भने हाँगैपिच्छे चाँडी (हाँगा नभाच्चियोस् भनेर लगाइने टेको) लगाउनु पर्ने किसान बताउँछन् । अहिले नै मज्जरको भारले हाँगा लचक्क नुहेका देखाउँदै बर्दिबास–९ पशुपनिगर बनरझुल्लाका किसान महेन्द्र महतोले भन्नुभयो, “अब त चाँडै फल्ने जातका आँपमा टिकोला पनि देखिन थालेका छन्, यी देखिएका टिकोला एक चौथाइमात्र टिक्दा पनि यसपालि निकै उत्पादन हुन सक्छ ।” तर अरु किसान झै महतोको चिन्ता पनि मधुवा लागेर सोतर बनाउला कि भन्ने छ ।

महोत्तरी जिल्लाका १५ वटै स्थानीयतहमा आँप खेती बाक्लै देखिएपनि बर्दिबास, जलेश्वर, गौशाला, मटिहानी, लोहारपट्टी , मनराशिशवा र भङ्गाहासहितका नगरपालिका क्षेत्र आँप खेतीका पकेट क्षेत्र मानिन्छन् । अहिले आँपमा लागेको मज्जरले यहाँका किसानलाई दङ्ग बनाएको छ । किसान अहिले यसपालि अब लगत्तै एक पटक राम्रो वर्षा भएर ठूलो हावाहुरी नचली देओस् भन्ने कामना गर्दैछन् । पानी परेपछि मज्जरमा लाग्ने कालो दाग र मधुवा किराको प्रकोप कम हुने किसानको अनुभव छ । “हुन त तलबाट झारीमा पाइप लगाएर पानी छर्केका छौं, उपचार पनि गरिएकै छ, तर परेको पानीजस्तो यो हुँदैन” जलेश्वर–५ चौरियाका ७५ वर्षीय किसान रहिमन मण्डल भन्नुहुन्छ, “परेको पानीले मधुवा र जालो सफा गर्नमात्र होइन, बोटको जराको फेदसम्म चिस्यान पुर्‍याउँछ, यो अहिले मज्जर र टिकोला अड्याउन अमृत समान हुन्छ ।” त्यसैले अहिले किसानको ध्याउन्न नै एकझर बर्सातको पर्खाइमा छ ।

महोत्तरीसहितका मध्यपूर्वी मधेश (तराई)मा चैत/वैशाख रुखो र हुरीवतासको प्रकोप हुने महिना मानिन्छन् । अहिले असिनारहित हल्का वर्षा फलफूल र अन्य खेती लगाएका किसानको चाहना छ । तर यसपालि हिउँदे वर्षा नहुँदा किसान मनभरि पिरोलिएका छन् । पछिल्ला दुई दिनदेखि आकास धुम्मिएको देख्दा पानी परिहाल्छ कि भन्ने आस जागेको गौशाला–९ भरतपुरका किसान सत्यनारायण मण्डल बताउनुहुन्छ । अहिले हुने वर्षाले मज्जरको डाँठ बलियो बनाउने, आँपका रुखमा लागेका किरा पखाल्ने र जरामा पर्याप्त चिस्यान हुँदा फूल नझर्ने र टिकोला (चिचिला) बोटमा राम्ररी अडिने किसानको अनुभव छ । यसपालि हिउँदे वर्षा नभएपछि रुखका जरामा सधैंजसो ओसारेर पानी हाल्नु परेको र बोटमा पानीकै फोहरा (मज्जरमा पानी छर्कने) दिने गरिएको किसान बताउँछन् । यद्यपि फलका रुखका लागि बाहिरी प्रयत्नबाट गरिएको फोहराको पानी वर्षाको जस्तो प्रभावकारी नहुने बर्दिबास–३ पाटुका होमबहादुर खड्का बताउनुहुन्छ । यसपालि हिउँदे वर्षा नभएर पानीका मूहान सुक्दै गएका हुँदा आापका बोटका जरा निकै रुखिएका खड्काको भनाइ छ ।

बगैंचा खेतीमा खासगरी आँप, लिची, सपाटो र रुखकटहर जिल्लाका मुख्य फल हुन् । यी सबै गृष्मकालीन फल हुन् । कटहरमा फुल झर्ने र मधुवा लाग्ने प्रकोप त्यति नदेखिएपनि आँप र लिचीमा यो समस्या मुख्य भएको किसान बताउँछन् । “कटहरको फूलको डाँठ कडा र मोटो हुन्छ, सामान्य हावाहुरीले छुदैन, तर आँप र लिचीका डाँठ कोमल र साना हुने हुँदा सानोतिनो हावाहुरीले पनि मज्जर र टिकोला बग्रेल्ती झार्छ” बर्दिबास–७ मनहरिपुरका किसान विन्देश्वर यादव भन्नुहुन्छ, “तर राम्रो वर्षा भएर जरामा राम्रो चिस्यान हुँदा मज्जर र टिकोला दरो हुनेहुँदा धेरै झर्दैनन् ।”

पछिल्लो जारी दशकमा कृषि कार्यका मजदुर पाइन छाडेपछि जिल्लामा बगैंचा खेती गर्ने किसान ह्वात्तै बढेका छन् । मजदुर नपाइने, समयमा खादमल र बीउकोे अभाव हुने र आवश्यक मात्राको सिँचाइ सुविधा नभएपछि अन्नबाली गर्ने ठाउँमा बगैंचा थपिदै गएर यो खेती बढेको हो । जिल्लामा विक्रम सम्वत् २०६० सम्म पुगनपुग दुई हजार हेक्टरमा रहेको बगैंचा खेती अब १० हजार हेक्टरको सेरोफेरोमा पुगेको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी , जलेश्वरले जनाएको छ । “बर्सेनि बगैंचा खेतीका किसानको सङ्ख्या बढ्दो छ” कार्यालयका सूचना अधिकारीसमेत् रहनुभएका बागवानी विकास अधिकृत अविरलकुमार महतोले भन्नुभयो ।

बगैंचा खेती बढ्दै गएसँगै किसानले यसबारेको प्राविधिक सल्लाह, रोगव्याधमा उपचार र भरपर्दो बिरुवा नपाएरभने ठगिनु परेको बताउँदै आएका छन् । तीनै तहका सरकारले आफूहरुको मर्का बुझेर आवश्यक पहलकदमी लिन पर्ने यस खेतीका किसान बताउँछन् । भर्खरै निर्वाचन सम्पन्न भएर अब नयाँ सरकार बन्ने बेला किसानले आफूहरुको समस्याको अब सुनवाइ हुने आस सँगालेका छन् ।


२०८२ फाल्गुन २७, बुधबार १०:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय