बर्दिबास (महोत्तरी), १२ वैशाख ।

मधेशको समृद्धिका लागि कृषि र पर्यटन प्रबद्र्धन मुख्य आधार हुने जनप्रतिनिधि र उद्योगी व्यवसायीको निष्कर्ष छ ।

शनिबार साँझ महोत्तरीको बर्दिबासमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीले यस्तो निष्कर्ष निकालेका हुन् । महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतो, नेपाल उद्योग तथा वाणिज्य महासङ्घ मधेश प्रदेश र बर्दिबास उद्योग वाणिज्य सङ्घमा निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा शुभकामनाका लागि नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिले कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य महतोले समग्र मधेश प्रदेशको समृद्धिका लागि उद्योगी, व्यवसायीले उठाएका कृषि र पर्यटन प्रबद्र्धनको विषय नै मुख्य आधार रहेको स्वीकार गर्नुभयो । “तपाईँहरुले मधेशको समृद्धिका ठिक चासो उठाउनु भएको छ” राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित सांसद महतोले भन्नुभयो, “मुलुकको समृद्धि हाम्रो साझा चासो हो, सरकार यसै दिशामा अघि बढ्छ ।

यसअघि नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष विजयकुमार साह, जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिका वरिष्ठ सल्लाहकार विजय झुनझुनवालासहितका वक्ताले आर्थिक समृद्धिबिना मुलुुकको विकास नहुने हुँदा यसका लागि मधेशमा कृषि र पर्यटन प्रबद्र्धनका कार्यक्रममा सरकार केन्द्रित हुनपर्ने सुझाउनु भएको थियो । कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की, बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपकबहादुर कार्की, महासचिब केदार गौतम, बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष गोपाल बरालसहितका वक्ताले उद्योगधन्दाको विकासले रोजगारी सिर्जना गर्नदेखि आर्थिक गतिविधि बढाउने र यसले मुलुकको समृद्धि अभियानमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिका अध्यक्ष हिरालाल गौतमले मुख्यत पर्यटन प्रबद्र्धनका क्षेत्रमा गरिने कामले मधेशको समृद्धिमा निकै योगदान दिने उल्लेख गर्नुभयो । “मधेशका आठवटै जिल्लामा प्राकृतिक र धार्मिक पर्यटन प्रबद्र्धनका प्रसस्त सम्भावना छन् , यसैगरी कृषिका लागि यो ठाउँ उर्वर छ” अध्यक्ष गौतमले भन्नुभयो, “यी क्षेत्रमा सरकारले गर्ने प्रयत्नमा हामी उद्योगी, व्यवसायी साथ छौं ।” उहाँले दुई वर्षअघि नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिले प्रदेशका आठवटै जिल्लाका पर्यटकीय स्थलको अवलोकनसँगै “घुमौ मधेश, बुझौ मधेश” कार्यक्रम सम्पन्न गरेको स्मरण गराउनुभयो ।

कार्यक्रम आयोजक महासङ्घले सो अवसरमा प्रतिनिधिसभा सदस्य महतो , नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश समिति र बर्दिबास उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सफल कार्यकालको शुभकामनासहित सम्मानपत्र प्रदान गरिएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेश समितिका महासचिब वैकुण्ठ सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।


२०८३ बैशाख १२, शनिबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय