बर्दिबास (महाेत्तरी), १५ वैशाख ।
खाद्य पदार्थकाे स्वच्छता र गुणयुक्त सेवासम्बन्धी एक दिने सचेतनामूलक तालिम बर्दिबासमा सम्पन्न भएकाे छ । आज मङ्गलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय महाेत्तरी, जलेश्वरले हाेमस्टे/ हाेटल/ रेस्टुरेन्ट र क्यान्टिन सञ्चालकहरुका लागि खाद्य स्वच्छतासम्बन्धी सचेतना तालिम आयोजना गरेको हो ।
कार्यक्रममा डिभिजन कार्यालयका प्रमुख तथा खाद्य विज्ञ बिक्की राउतले खाद्य स्वच्छतासम्बन्धी हाेटल व्यवसायीले निर्वाह गर्नुपर्ने भूमिका र व्यवस्थापनकाे कानुनी तथा व्यवस्थापकीय प्रबन्धबारे कार्यपत्र नै प्रस्तुत गरेर स्पष्ट पार्नुभयाे ।
कार्यक्रममा राष्ट्रिय उपभाेक्ता मञ्च महाेत्तरीका अध्यक्ष दिपेन्द्र पराजुलीले खाद्य स्वच्छता र यिनमा निहित गुण आम जनस्वास्थ्यसँग प्रत्यक्षसम्बन्धित हुँदा नियमनकारी निकायबाट नियमित र प्रभावकारी अनुगमन हुनपर्ने बताउनुभयाे । जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय प्रशासन र स्थानीयतहकाे समन्वयबाट प्रभावकारी अनुगमन गरिन पर्ने उहाँकाे सुझाव छ । जिल्लामा अनुगमनकाे पाटाे कमजाेर रहेकाे उहाँकाे गुनासाे छ ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ स्थानीयतहमा बस्तीपिच्छेजसाे साप्ताहिक हटीया छन् । जिल्लामा सहरीक्षेत्रबाहेक यस्ता हटीया २०० भन्दा माथि छन् । यस्ता हटीयामा रहेका हाेटल तथा खाजा पसलले असुरक्षित तवरले तयार खाद्य सामग्री खुला बेचविखन गर्ने गरेका र नियमनकारी निकायबाट नियमित अनुगमन हुन नसकेकाे कार्यक्रममा सहभागीले औंल्याएका छन् । यसैगरी यी बजारमा विषादीयुक्त हरिया सागसब्जी र कमसल खाद्य सामग्री उपभाेक्ताले लिनु परेकाे अर्का सहभागी बर्दिबासचाेकस्थित हाेटल गाैरीशङ्करका सञ्चालक नारायण घिमिरेकाे भनाइ छ ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय महाेत्तरीका प्रमुख राउतले खाद्य सामग्रीकाे सेवा दिने व्यवसायीले स्वच्छता र स्वस्थ्यकर गुणयुक्त सामान दिनपर्ने कानुनीमात्र नभएर नैतिक दायित्व भएकाे बताउनुभयाे । प्रत्येक हटीया र पसलहरुमा अनुगमन गर्न आफ्नो जनशक्ति र प्रविधि अपूग रहेकाे स्पष्ट गर्दै राउतले यस कार्यमा स्थानीयतह, उद्याेग वाणिज्य सङ्घहरु र हाेटल तथा पर्यटन व्यवसायी सङ्घले संस्थागत पहलकदमी लिनपर्ने स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख माधव न्याैपानेले स्थानीयतह र खाद्य स्वच्छता तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे समन्वयमा बजार अनुगमन हुँदै आएपनि पर्याप्त हुन नसकेकाे स्वीकार गर्नुभयाे । कार्यक्रममा सहभागी बर्दिबास नगरक्षेत्रका १०० भन्दा बढी हाेटल तथा खाजा पसल सञ्चालकलाई खाद्य स्वच्छता र गुणबारे सैद्धान्तिक र कानुनी व्यवस्थाबारे सचेतना दिइएकाे छ । याे कार्यक्रमले खाद्य स्वच्छता र यिनमा निहित गुणबारे चनाखाे हुन प्रेरणा मिलेकाे कार्यक्रमका सहभागी व्यवसायीले बताएका छन् ।

कार्यक्रममा नेपाल हाेटल तथा पर्यटन व्यवसायी सङ्घ महाेत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की र बर्दिबास उद्याेग वाणिज्य सङ्घका अध्यक्ष दीपकबहादुर कार्कीले खाद्य स्वच्छता र गुणका बारेमा सचेत हुन सबै हाेटल व्यवसायीसँग अपिल गर्नुभयाे ।
याे कार्यक्रमले आफूले दिने सेवाकाे स्वच्छताबारे सम्वेदनशील हुन सबै हाेटल व्यवसायीलाई प्रेरित गरेकाे सहभागीकाे ठम्याइ छ ।
यस्ता सचेतनामूलक कार्यक्रम जिल्लाका सबै स्थानीयतहमा सञ्चालन र बजार अनुगमन अब सँगसँगै बढाइने खाद्य स्वच्छता तथा गुण नियन्त्रण डिभिजन कार्यालय महाेत्तरी जलेश्वरले जनाएकाे छ ।

२०८३ बैशाख १५, मंगलवार १९:३०मा प्रकाशित


