बर्दिबास (महोत्तरी), ५ जेठ ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापासहितका शिर्ष नेताहरुको मधेशमा जमघट हुँदैछ । ‘ऊर्जा र विश्वासको नवीन अभियान’ नाम दिइएको मधेश प्रदेशस्तरीय दुई दिने परामर्श कार्यशालाका लागि नेताहरुको मधेशमा जमघट हुन लागेको आज मङ्गलबार साँझ बर्दिबासमा पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

अभियानका लागि मधेश संयोजक केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईँले बुधबार र बिहीबार बर्दिबासमा आयोजना हुने दुई दिने परामर्श कार्यशालाका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेलको सहभागिता रहने जानकारी दिनुभयो ।

“प्रदेश स्तरीय यो कार्यक्रमका लागि महामन्त्री प्रदीप पौडेल बर्दिबास आइपुग्नु भएको छ, सभापति र उपसभापति बुधबार बिहान आइपुग्ने तालिका छ” गुरागाईँले भन्नुभयो, “यो विशिष्ट तवरले हुन लागेको परामर्श कार्यशाला काँग्रेसको मात्र नभइ सिङ्गो लोकतान्त्रिक आन्दोलनका लागि नयाँ सिकाइ हुने हाम्रो विश्वास छ ।” बिहान ठिक नौ बजेदेखि नाम दर्ता र ठिक १२ बजेर ३५ मिनट जाँदा कार्यक्रमको उद्घाटन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उद्घाटनसत्र जम्मा ७५ मिनटको हुने र निर्धारित समयमा कुनै तलवितल नहुने गुरागाईँको भनाइ छ ।

“उद्घाटनसत्रपछि सुरु हुने परामर्श कार्यशालामा राजनैतिक र साङ्गठनिक विषयमात्र नभएर समाजका विविध क्षेत्रका विषयमा सहभागीले प्राङ्गारिक सम्वाद गर्नेछन्‌” गुरागाइँ भन्नुहुन्छ, “यस अभियानमा सामाजिक, साँस्कृतिक विषयदेखि काँग्रेसको सत्ता केन्द्रित विगतको मनोवृतिसम्मको विवेचना र आत्मसमीक्षा गरिने छ ।” त्यसैले यसलाई प्राङ्गारिक सम्वाद भनिएको उहाँले प्रष्ट्याउनुभयो । आधारभूत तहसम्म पुगिने हुँदा यसलाई ‘जरा अभियान’ भनिएको गुरागाईँको भनाइ छ ।

यस कार्यक्रममा मधेशभित्रबाट केन्द्रीय समिति, केन्द्रीय विभागमा प्रतिनिधित्व गर्ने सबै पदाधिकारी तथा सदस्यहरु, मधेश प्रदेश समितिका सबै सदस्य, प्रदेशअन्तर्गतका सबै जिल्लाका पार्टी सभापतिहरु, मधेश प्रदेशसभामा दलका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरु र स्थानीयतहमा पार्टीका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष/ उपाध्यक्ष सहभागी हुने गुरागाईँले जानकारी दिनुभयो । यसैगरी कार्यक्रममा आतिथ्यता दिने महोत्तरी जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा क्षत्रीय समितिका सभापतिहरु सहभागी हुने उहाँले स्पष्ट पार्नुभयो । प्रदेशमा जरा अभियानको पहिलो चरणको यो कार्यक्रममा २६५ जना सहभागी हुने बताइएको छ ।

अभियानको कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गुरागाईँका अतिरिक्त केन्द्रीय सदस्यहरु बजरङ्ग नेपाली र सुनीलकुमार यादव पनि उपस्थित हुनुहुन्थ्यो । यसैगरी नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव, महोत्तरी जिल्ला सभापति नागेश्वर यादव र बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीसहितका नेताहरुको पत्रकार सम्मेलनमा उपस्थिति थियो ।


२०८३ जेष्ठ ५, मंगलवार २३:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय