भूमिका पाेखरेल,
बर्दिबास : मधेश प्रदेशका नवनियुक्त श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले आम जनतालाई सुशासनकाे प्रत्याभूति गराउनु आफ्नो पहिलाे दायित्व हुने बताउनु भएकाे छ ।
आज बुधबार बर्दिबास नगर पत्रकार सञ्जाल, महाेत्तरीले आफ्नै सम्मानमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री थापाले सेवाग्राहीले बिनाहिचक सरकारी कार्यालयका काममा सम्बद्ध अधिकारीसँग कामका कुरा राख्नसक्ने वातावरण बन्नु पर्ने उल्लेख गर्नुभयाे । सेवाप्रदायक कार्यालयमा बिचाैलियाकाे चलखेलमात्र नियन्त्रण गर्न सकिए सेवा निकै सहज हुने उहाँकाे भनाइ छ ।

मधेशमा वैदेशिक राेजगारीमा जाने युवाकाे सङ्ख्या दिनदिनै बढ्दै गएकाे सन्दर्भ उल्लेख गर्दै थापाले यहीं सीप प्रबर्द्धन गर्नसके राेजगारीका अवसर बढ्नसक्ने औंल्याउनु भयो । यसका लागि सीपयुक्त तालिममा युवाहरुलाई जाेड्न आफ्नो प्रयत्न केन्द्रित हुने उहाँकाे प्रतिबद्धता छ ।
हिजाे मङ्गलबार पुनर्गठित मन्त्री परिषदमा नियुक्त हुनुभएकी थापा महाेत्तरी-१ (१) प्रदेशसभा क्षेत्रबाट २०७४ र २०७९ मा लगातार जित हासिल गर्नुभएकी एमाले नेतृ हुनुहुन्छ ।
कार्यक्रममा मन्त्री थापालाई नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजकरण महताे, सञ्जालका अध्यक्ष गाेपालप्रसाद बराल र सचिब विशाल बस्नेतसहितका पत्रकारले खादा र अबिर लगाएर यस कार्यकालमा मधेशका लागि उदाहरणीय काम हुनसक्ने शुभेच्छा व्यक्त गर्नुभयाे ।
सञ्जालका अध्यक्ष बरालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका नेताहरु सरस्वती चाैधरी, सन्त परियार, सुमित्रा लामगादे र सागर खड्कासहितकाे उपस्थिति थियाे ।



