जनकपुर, मधेश प्रदेश – काठमाडौँ विश्वविद्यालय (KU) अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र (KU-NCCS) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहकार्यमा, तथा प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम (PLGSP) अन्तर्गत सञ्चालित स्थानीय सरकार युवा संघीयता फेलोशिप (Youth Federalism Fellowship – YFF) कार्यक्रमको १२ दिने सघन तालिम जनकपुरमा सुरु भएको छ।

प्रदेश अनुसन्धान तथा तालिम प्रतिष्ठान (PRTA), मधेश प्रदेशको सभाहलमा आयोजित उद्घाटन कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक बबली मेहताको अध्यक्षता रहेको थियो। कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका डीन डा. उद्धव प्याकुरेल, PLGSP मधेश प्रदेशका प्रतिनिधि दिनेश सुधाकर लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यस तालिमसँगै मधेश प्रदेशमा YFF कार्यक्रमको औपचारिक कार्यान्वयन पनि सुरु भएको छ।

स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि तथा संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रम अन्तर्गत दक्ष तथा ऊर्जावान युवा पेशाकर्मीहरूलाई स्थानीय तहमा खटाइनेछ। फेलोहरू स्थानीय सरकारसँग सहकार्य गर्दै स्थानीय आवश्यकता, चुनौती र प्राथमिकताहरू पहिचान गर्न तथा प्राविधिक सहयोग प्राप्त गर्न सहजीकरण गर्ने भूमिकामा रहनेछन्।

कार्यक्रमका लागि राजनीतिशास्त्र, कानुन, समाजशास्त्र, सार्वजनिक प्रशासन, विकास अध्ययन लगायतका विषयमा स्नातक तह पूरा गरेका ३० वर्षमुनिका युवाहरूलाई प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट गरिएको छ। स्थानीय भाषा, संस्कृति तथा समुदायसँग घुलमिल हुन सक्ने क्षमतालाई पनि छनोटको महत्वपूर्ण आधार बनाइएको छ। मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका ६० स्थानीय तहका लागि प्रति प्रदेश २० जना फेलो छनोट गरिएका छन्। प्रत्येक फेलोले आफूलाई तोकिएको स्थानीय तहमा १८ महिनासम्म कार्य गर्नेछन्।

कार्यक्रमका संयोजक तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका डीन डा. उद्धव प्याकुरेलका अनुसार, “यो कार्यक्रम ‘स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारका लागि मात्र होइन भन्ने अवधारणामा आधारित छ। फेलोहरूले स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरूको भूमिका तथा नेतृत्वलाई सम्मान गर्दै सहयोगी र सहजीकरणकर्ताको भूमिका निर्वाह गर्नेछन्।”
फेलोहरूले स्थानीय सरकार, प्रदेशस्तरीय प्राविधिक संस्थाहरू, प्रदेश अनुसन्धान तथा तालिम प्रतिष्ठान (PRTA), PLGSP तथा UNDP का प्राविधिक विशेषज्ञहरूसँग समन्वय गर्दै स्थानीय तहको योजना तर्जुमा, बजेट निर्माण, सेवा प्रवाह, लैंगिक समानता तथा सामाजिक समावेशीकरण (GESI), स्थानीय शासन तथा विकासका विविध पक्षमा सहयोग पुर्‍याउनेछन्।

१२ दिने तालिम युवा फेलोहरूलाई कार्यक्षेत्रमा खटिनुअघि आवश्यक ज्ञान, सीप र व्यवहारिक क्षमता विकास गर्ने उद्देश्यले तयार गरिएको हो। तालिम अवधिमा सहभागीहरूले नेपालको संघीय संरचना, संवैधानिक तथा कानुनी व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, योजना तथा बजेट प्रक्रिया, तथ्यांकमा आधारित निर्णय प्रणाली, सार्वजनिक सेवा प्रवाह, सहजीकरण तथा सञ्चार सीप, द्वन्द्व व्यवस्थापन, कोचिङ तथा मेन्टरिङ जस्ता विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्।

तालिमका विभिन्न सत्रहरूमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ आर्ट्सका डीन डा. उद्धव प्याकुरेल, PLGSP मधेश प्रदेशका प्रादेशिक शासन विश्लेषक दिनेश सुधाकर, नेपाल समसामयिक अध्ययन केन्द्रकी अध्येता सुमित्रा खड्का, सहजकर्ता प्रियंका झा, मधेश प्रदेश कार्यक्रम संयोजक सरोज कुमार महतो लगायतका स्रोत व्यक्तिहरूले सहजीकरण गरिरहेका छन्।

विश्वविद्यालय र साझेदार संस्थाहरूका अनुसार, यस तालिमले युवा फेलोहरूलाई स्थानीय सरकारसँग प्रभावकारी रूपमा काम गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नेछ। तालिम सम्पन्न भएपछि फेलोहरूलाई स्थानीय तहमा खटाइनेछ, जहाँ उनीहरूले आगामी १७–१८ महिनासम्म स्थानीय शासन र सेवा प्रवाह सुधारका लागि सहजीकरणात्मक भूमिका निर्वाह गर्नेछन्।


२०८३ जेष्ठ २७, बुधबार १५:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय