ढल्केबर , ३ असार ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अवरसरबाट वञ्चित समुदायको राज्यका विभिन्न क्षेत्रमा पहुँच बढाएको विज्ञले बताएका छन् । बुधबार आमसञ्चार प्राधिकरण मधेश प्रदेशले मिथिला नगरपालिकाको ढल्केबरमा आयोजना गरेको सङ्घीयता सबलीकरणबारे समाचार लेखनसम्बन्धी दुई दिने आवासीय कार्यक्रमको पहिलो दिन भएको छलफलमा विज्ञहरुले सङ्घीयता सुरु भएयता महिला, दलित, आदिबासी जनजाति , मुस्लिम र उपेक्षामा परेका अन्य समुदाय र वर्गको राज्यका विभिन्न क्षेत्रमा पहुँच बढेको उल्लेख गरेका हुन् ।

“समावेसिताको क्षेत्रमा हाम्रा उपलब्धी वैश्विक रुपमै विशिष्ट छ, सङ्घीयता सुरु भएयता संसद, प्रदेश र स्थानीयतहमा महिलाहरुको प्रतिनिधित्व उल्लेख्य बढेको छ”कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै राष्ट्रियसभाका पूर्वसदस्य तथा सङ्घीयतासम्बन्धी विज्ञ खिमलाल देवकोटा भन्नुहुन्छ, “तथ्याङ्कले कैयौ विकसित मुलुकभन्दा नेपालको समावेसिता उचो छ ।” संसदमा र प्रदेशसभामा गरी करिब ३५ र स्थानीयतहमा अहिले ४१ प्रतिशतको हाराहारी महिला प्रतिनिधित्व रहेको उहाँको भनाइ छ । “यो दलित, आदिबासी, मुस्लिम र अन्य पिछडिएका वर्गसमेत्‌को प्रतिनिधित्व रहेको उहाँले स्पष्ट पार्नुभयो ।

यसैगरी राज्यका अन्य निकायमा पनि समावेसी व्यवस्थाले उपेक्षित वर्ग समुदायको पहुँच बढेको देवकोटा बताउनुहुन्छ ।पछिल्ला दिनमा सङ्घीयताले निकै खर्च बढाएको भाष्य बनाइए पनि वास्तवमा त्यस्तो नभएको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय गत भदौ २३/२४ को जेन्जी आन्दोलन सङ्घीयता र वर्तमान सम्बिधानविरुद्ध नभइ सुशासन, पारदर्शिता र राजनीतिमा पुस्तान्तरणको मागले भएको उहाँको भनाइ छ । कार्यक्रममा सम्बिधानसभा सदस्य प्रल्हाद लामिछाने, मधेशको नीति आययोगका पूर्वउपाध्यक्ष प्राध्यापक भोगेन्द्र झा र आमसञ्चार प्राधिकरण मधेशका अध्यक्ष जितेन्द्र खर्गाले अहिले सङ्घीयताको सबलीकरणका लागि पत्रकारहरुले यस विषयमा तथ्यसहित समाचार बनाउन पर्ने आवश्यकतामा जोड दिनुभयो ।

मधेशका महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका कृयाशील ५० जना अगुवा पत्रकार सहभागी रहेका यो कार्यक्रम बुधबार मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदादेवी थापाले उद्घाटन गर्नुभएको हो । अब सङ्घीयताको मुख्य मर्म आत्मसाथ गराउन जनताका सीप र श्रमको समुचित सम्मानको वातावरण बनाउनु मुख्य कार्यभार बनाउन पर्ने थापाले बताउनुभयो ।

बिहीबार सङ्घीयताका चुनौति र यसको प्रतिरक्षामा गरिनु पर्ने कामबारे थप छलफल गर्दै ठोस निष्कर्षसाथ कार्यक्रम सम्पन्न गरिने तालिका छ । यो कार्यक्रमले पत्रकारको सङ्घीयता सबलीकरणसम्बन्धी समाचार लेखन सीप बढाउने अपेक्षा लिइएको आम सञ्चार प्राधिकरण मधेशका अध्यक्ष जितेन्द्र खर्गाको भनाइ छ ।


२०८३ असार ३, बुधबार १८:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय