महाेत्तरी, १७ असार,

महाेत्तरी जिल्लामा पूर्ण साक्षर घाेषणा हुने स्थानीयतहकाे सङ्ख्या तीन पुगेकाे छ । बुधबार मनराशिशवा नगरपालिका साक्षर घाेषणा भएसँगै याे सङ्ख्या तीन पुगेकाे हाे ।
यसअघि मटिहानी र जलेश्वर नगरपालिका साक्षर घाेषणा भइसकेका छन् ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये अहिलेसम्म साक्षर घाेषणा गर्ने तीन पुगेका हुन् । पछिल्लाे पटक १५ देखि ६० वर्ष उमेरभित्रका ९६ दशमलव दुई प्रतिशत साक्षर भएपछि स्थापित मापदण्डअनुसार मनराशिशवा नगरपालिका साक्षर घाेषणा भएकाे हाे । बुधबार एक समाराेहबीच मधेश प्रदेशसभा सदस्य अञ्जना पण्डित र जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मनराशिशवा नगर प्रमुख माेहन पाण्डेलाई साक्षर नगरकाे प्रमाणपत्र प्रदान गर्नुभयो ।

जम्मा १० वडा रहेका आफ्नो नगरका १५ देखि ६० वर्ष उमेर समूहका विद्यालय बाहिरका सबै नागरिकलाई अनाैपचारिक शिक्षा अभियानमा जाेडेर साक्षर बनाइएकाे नगरप्रमुख पाण्डेले बताउनुभयाे । पछिल्ला चार वर्षकाे निरन्तर प्रयत्नले याे उपलब्धी हासिल भएकाे उहाँकाे भनाइ छ । १५ वर्ष मुनिका भने सबै विद्यालयकाे औपचारिक शिक्षासँग जाेडिएका पाण्डेले स्पष्ट पार्नुभयाे ।

नगरकाे जम्मा जनसङ्ख्या ५४ हजार ८३४ मध्ये १५ देखि ६० वर्ष उमेरभित्रका ३६ हजार १०६ रहेका नगर कार्यपालिकाकाे कार्यालयकाे शिक्षा शाखाले जनाएकाे छ । याे सङ्ख्याभित्रका ३४ हजार ७४६ जना साक्षरता कक्षामा सामेल भइ सामान्य लेखपढ गर्नसक्ने बनेपछि मापदण्डअनुसार साक्षर घाेषणा भएकाे हाे । याे उमेर समूहकाे साक्षरता प्रतिशत ९६ दशमलव दुई भएकाे नगर शिक्षा शाखा प्रमुख जयशङ्कर मण्डलले जानकारी दिनुभयाे । याे उमेरभित्रका ९५ प्रतिशत अनाैपचारिक शिक्षामा सामेल भइ साक्षर भएका प्रमाणित भएपछि स्थानीयतहलाई साक्षर भएकाे घाेषणा गरिने व्यवस्था छ ।

जिल्लामा अब एकपछि अर्काे स्थानीयतह साक्षर घाेषणाकाे तयारीमा रहेका शिक्षा विकास तथा समन्वय इकाई महाेत्तरीका प्रमुख निर्मल घिमिरेकाे भनाइ छ । अबकाे एक वर्षभित्र ६० प्रतिशतभन्दा बढी स्थानीयतह साक्षर घाेषणाका लागि याेजनाबद्ध काममा रहेका घिमिरेले बताउनुभयाे ।


२०८३ असार १७, बुधबार १९:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय