महोत्तरी : महोत्तरीमा सामाजिक सेवा क्षेत्रका अन्तर्राष्ट्रिय सङ्घसंस्थाको स्थानीय नेतृत्व धमाधम महिलाले सम्हाल्दै छन् । परोपकारी तथा सामाजिक सेवाका क्षेत्रमा वैश्विक पहिचान बनाएका लायन्स क्लव, लियो क्लव, रोटरी क्लव र रोट्रयाक क्लव बर्दिबासको नेतृत्व एकपछि अर्को गर्दै यसपालि महिलाले सम्हालेका छन् ।

पछिल्लो पटक आज शनिबार बर्दिबासमा आयोजित एक समारोहबीच लायन्स क्लव अफ बर्दिबासको अध्यक्षको जिम्मेवारी सुनिता बरालले सम्हाल्नु भएको छ । त्यसैगरी लायन्सकै सहयोगी संस्था लियो क्लवको अध्यक्षको जिम्मेवारी आशा साहको काँधमा आएको छ । उहाँहरु दुबै जनालाई लायन्स क्लव इण्टरनेसनल नेपाल शाखा डिष्ट्रिक्ट ३२५ ‘एफ’ का पूर्व गभर्नर मधुकर उपाध्यायले सपथ गराउँदै पदस्थापन गराउनु भएको हो ।

लायन्स क्लव अफ बर्दिबास समाजको अध्यक्ष बराल कैयौ सामाजिक कार्यको नेतृत्व गरीसक्नुभएकी व्यक्ति हुनुहुन्छ । बरालले यसअघि नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको नेतृत्व गरी सक्नु भएको छ । यस्तै अहिले विद्यार्थी जीवनमै रहनु भएकी आशा सुदृढ इच्छाशक्ति भएकी युवा महिला हुनुहुन्छ ।

यसअघि गत महिना साउनमा रोटरी क्लव अफ बर्दिबास र रोट्रयाक क्लव बर्दिबासको अध्यक्ष पदको जिम्मेवारी सुमित्रा भट्टराई र सोनम गोलेले सम्हाली सक्नुभएको छ । भट्टराई जिल्लाकै अग्रणि सामाजिक कार्यकर्ताकोे परिचय बनाउनु भएकी व्यक्ति र गोले उद्यमी युवा महिला हुनुहुन्छ ।

लायन्स र लियो क्लवको पदस्थापन समारोहमा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापाले कामकै उत्कृष्टताले स्थापित सामाजिक सेवा क्षेत्रका संस्थामा नेतृत्व लिनु अब महिला प्रत्येक क्षेत्रमा सफलता हासिल गर्दैछन् भन्ने दृष्टान्त बनेको बताउनुभयो । भूगोल, जनसङ्ख्या र सामाजिक गतिविधिका क्षेत्रमा सघन गतिविधि हुने बर्दिबासका कामले सिङ्गो मधेशमै सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ । महिला नेतृत्वका यी संस्थाले सो क्षेत्रका काम अझ बढी प्रभावकारी र नतिजामुखी बन्ने मन्त्री थापाले विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा छिमेकको मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकी , लायन्स क्लव अफ इण्टरनेसनल नेपालका ३२५ ‘एफ’ डिष्ट्रिक्टका पूर्वगभर्नर र डिपुटी गभर्नरहरु क्रमशः उपाध्याय, शङ्कर शारदा, मनोजकुमार सापकोटा र किशोरभक्त श्रेष्ठले नयाँ जिम्मेवारी सम्हाल्नुहुने सबैलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

 


२०८३ भाद्र २०, शनिबार २०:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय