महोत्तरी : भङ्गाहा–५ भूचक्रपुरका ७० वर्षीय दीपनारायण चौधरी थारुलाई दशहरा (दसैं) पर्व लाग्यो कि बस्तीबस्तीमा बज्ने ‘दशहराके ढोल’ र नवरात्रका प्रत्येक रात बस्तीमा मिथिलानी (मिथिलाका नारी) सरिक हुने तान्त्रिक खेल ‘झिझिया’ को सम्झना हुन्छ । पछिल्ला केही दशकयता मधेशको मिथिला क्षेत्रका यी पुराना पर्व परम्परा देखिन/ सुनिन छाडिएपछि अब हाम्रो साँस्कृतिक पहिचान के रहला भन्ने थारुको चिन्ता छ ।
“दशहारा पर्व सुरु हुने घटस्थापनाकै दिनदेखि प्रत्येक दिन साँझपख बस्तीमा ‘दशहराके ढोल’ भन्दै चमार जाति समुदायका अगुवा नगरा बजाउँदै हिड्थे” विगत सम्झदै जलेश्वर–५ पतैलीका ७५ वर्षीय रहिमन मण्डल भन्नुहुन्छ, “अब त दसैं आएको पत्तै हुँदैन ।” चमार समुदायका अगुवा ढोल बजाउँदै बस्ती पस्दा बालपनमा आफू समवयीसँगै पछिपछि दौडेको मण्डललाई सम्झना छ ।
थारु र मण्डलमात्र नभएर पाँच दशक उमेर पार गरेका मैथिल चाडपर्वका पुराना परम्परा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका भेटिन्छन् । गौशाला–१० लक्ष्मीनियाँका ७० वर्षीय लक्ष्मीप्रसाद महतो दसैं सुरु हुनअघिको गाउँबस्ती सरसफाइ , पिङ् हाल्ने , घर लिपपोतका लागि समूहमा माटो लिन जाने र पर्व सामग्री किन्न छरछिमेक सबै मिलेर हिड्ने गरेको किशोर र युवा उमेरका सम्झना महतोलाई झलझली छन् । तर अहिले सामुहिकता हराउँदै गएको उहाँ बताउनुहुन्छ ।
“खै के दसैं आयो भन्नु ! सबै आआफ्नै धुन र मतलवमा मस्त छन् , दसैं पर्वमा पहिले हुने सामुहिक जमघट केही देखिदैन” महतो भन्नुहुन्छ, “यसले त म चाडवाड आएको गएको भेउ नै पाउन छाडे ।” सो बस्तीकै भोगेन्द्र महतो पनि चाडपर्वका पुराना परम्परा हराउँदै जाँदा अब केही वर्षमा चाडवाडका मैथिल परम्परा भन्ने केही देखाउन नपाइने अवस्था बन्दै गरेकाे बताउनुहुन्छ । “अब त हामीले पछिल्लो पुस्तालाई दसैंमा ढोल बजाउने, बस्तीबस्तीमा झिझिया नृत्य हुने गरेको इतिहास पढाए झै बताउनु पर्ने अवस्था आइसक्यो जस्तो लाग्छ” भोगेन्द्र भन्नुहुन्छ , “हाम्रा मौलिक परम्परा मेटिएपछि हामी मैथिल भनेर के देखाउने होला ?” दशहरामा मैथिल परम्पराका मुख्य आकर्षण झिझिया र ढोल नै रहेको पाका मैथिल एक स्वरमा बताउँछन् ।

यी परम्परामध्ये ढोल बजाउने चलन त देखिनै छाड्यो । लोक नृत्य झिझिया भने जनस्तरमा हराउँदै गएपनि मञ्चनमा कतैकतै अझै देखिदैछ । नवरात्रभरि आआफ्ना टोलभित्रका मिथिलानीले दुष्टात्मा भगाउन खेल्ने तान्त्रिक विधिको ‘झिझिया’ नृत्य अब बस्तीमा देखिन , सुनिन छाडेको छ । यद्यपि कतिपय गैरसरकारी संस्था र नाचगान कम्पनीहरुले झिझिया नृत्य भनेर आधुनिक विषय पस्केका कतैकतै अझै देखिदै छ । तर यो त मञ्चनको विषय नभएर लोकसंस्कृतिसँग जोडिएको विषय रहेको भङ्गाहा–५ सीतापुर बजारस्थित माध्यमिक विद्यालय भङ्गाहाका प्रधानाध्यापक मनोहर यादवको भनाइ छ ।
ढोल बज्न छाडेर बस्तीबस्तीमा झिझिया पनि हराउँदै गएपछि पाका पुस्ताका मैथिललाई दशहारा आएजस्तो लागेको छैन । दशहरा सुरु भएको आज पाँच दिन भइसक्दासम्म बस्तीमा ढोल नबज्दा र र राती झिझियाको लय सुन्न नपाइएपछि दसैं लागेको भनक नै नपाइएको रामगोपालपुर–७ का ७० वर्षीय नरेश यादव बताउनुहुन्छ ।
दसैं पर्वको घटस्थापनाकै दिनदेखि बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै हिंड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथा जस्तै भएको बुढापाका बताउँछन्। लोक परम्पराका ‘ढोल’ नबज्दा दसैं लाग्यो, दसैं आयो भन्ने हेक्का नै नरहने पाका मैथिलकाे गुनासाे छ ।
त्यसैगरी नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाहरुको समूह पनि अब देखिन छाडेको छ । ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा…!’ को लयले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर दसैंमा मिथिलानीहरुले सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बुढापाका मैथिलको चिन्ता बढेको हो ।
यी परम्परा थेगेका चलाएका पुस्ता उमेर पाको हुँदै गएर अब हिडडुल गर्न नसक्ने भएका छन् । नयाँ पुस्ताका किशोरकिशोरी र युवायुवती यी पुराना रितिथितिबारे पूरै बेखबर हुँदा यहाँको मौलिक परम्परा अब बिरानो भइसकेका छन् । ढोल र झिझिया मेटिएपछि दसैंलाई मिथिलासँग जोड्ने मुख्य पक्ष नै मेटिने औरही–७ भोइलका ७५ वर्षीय मोहन महतो बताउनुहुन्छ ।
ढोल दसैबारेको सार्वजनिक सूचना र झिझिया यो पर्वका बेला दुष्टात्मा बस्ती पस्न नपाउन् भन्ने खबरदारी भावमा रहेकाे जनता माध्यमिक विद्यालय बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोको कथन छ । दसैं लागेपछि अघि सत्य युगमा देवी दुर्गाबाट पराजित भएका दुष्टात्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुखः दिन सक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीहरुले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिएको हो । अब यी लोक परम्परा थेग्न, बचाउन र प्रबर्द्धन गर्न नयाँ पुस्ताले यसबारे चासो बढाइ दिउन् भन्ने पाका मैथिलको चाहना छ । पर्वका यी मैथिल लोकपरम्परा ‘ढोल’ र ‘झिझिया’ जिवन्त राख्न नयाँ पुस्ताको चासोबिना सम्भव नहुने मैथिल बुद्धिजीवी बताउँछन् ।


