
चेन्नाईः इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार राति सम्पन्न टी२० क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई छ विकेटले पराजित गरेको छ ।
डिफेन्डिङ च्याम्पियन मुम्बईले प्रस्तुत गरेको १३८ रनको चुनौती दिल्ली क्यापिटल्सले १९.१ ओभरमा चार विकेट गुमाएर पुरा गरेको थियो ।
दिल्लीका लागि शिखर धवनले ४५, स्टिभन स्मिथले ३३, ललित यादवले २२, कप्तान रिषभ पन्तले ७ र शिमरन हेटमायरले १४ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले चेन्नाईको सुस्त पिचमा २० ओभर खेल्दै ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४४, सूर्यकुमार यादवले २४, इसन किसनले २६ तथा जयन्त यादवले २३ रन बनाएका थिए । अन्य सात जना ब्याट्सम्यानले दोहोरो अंक समेत बनाउन सकेनन् ।
मुम्बईका पावर हिटरहरु हार्दिक पान्ड्या ०, क्रुनाल पान्ड्या १, कायरोन पोलार्ड २, क्विन्टन डि कक २ रनमै पभेलियन फर्केका थिए ।
दिल्ली क्यापिटल्सका लागि अमित मिश्रले सर्वाधिक चार विकेट लिएका थिए । अभेष खानले २, मार्कस स्टोइनिस, कागिसो राबाडा र ललित यादवले समान १–१ विकेट लिएका थिए ।
यो जितसँगै दिल्लीले ४ खेलबाट ६ अंक बनाएर लिगमा दोस्रो स्थानमा पुगेको छ । मुम्बई भने ४ अंक सहित चौथो स्थानमा छ ।