जनकपुरधाम : प्रदेश २ मा बुधबार ३०७ जना कोरोना संक्रमित थपिएका छन्‌।

प्रदेश जनस्वाथ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणमा धनुषा ५३ ,पर्सा १२३, बारा ४१, रौतहट २३,महोत्तरी १७, सिरहा १७, सर्लाही १० र सप्तरीमा २३ संक्रमित पहिचान भएको हो।

गत वर्ष कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश २ दोश्रो चरणमा पनि ‘हटस्पट’ बन्ने जोखिममा परेको छ। सीमा नाकामा चरम हेल्चेक्य्राइँ, न्यून सतर्कता र कमजोर स्वास्थ्य प्रणाली भएकाले प्रदेशमा पछिल्लो समय दिनानुदिन कोरोना संक्रमित संख्या बढ्दै गएको छ।

प्रदेश २ सरकारले कोभिड–१९ संक्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पीसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन्।

तर, प्रदेशमा संक्रमित संख्या दिनहुँ बढ्दै गएपनि सरकारी स्तरबाट हुनुपर्ने तयारी न्यून र सुस्त गतिमा चलेको देखिएको छ।
प्रदेश सरकारले गरेका निर्णय कार्यन्वयन हुन सकेको छैन। प्रदेशका आठवटै जिल्लामा स्वास्थ्यकर्मीसँगै र उपकरणसमेत अभाव छ। चिकित्सकहरूका अनुसार कोरोनाविरुद्ध लडाईंमा प्रदेश २ अझै प्राविधिक रूपले तयार हुन सकेको छैन।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले निष्क्रियता देखाएको भन्दै प्रतिपक्षी दलले समेत सरकारको आलोचना गरिरहेका छन्‌।

नेपाली कांग्रेस, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले छिमेकी राष्ट्र भारतमा ३ लाखभन्दा बढी संक्रमित फेला परेको र अव्यवस्थित सीमाका कारण नयाँ भेरियन्टको कोरोना नेपालतर्फ प्रवेश गरेको खबर आइरहेको बताए। अहिलेसम्म कोभिड–१९ अस्पताल समेत बनाउन नसकेको भन्दै उनले प्रदेश सरकारको आलोचना गरे।

नेता यादवले भने, ‘पहिले पनि प्रदेश सरकारले कोभिड–१९ को समय काम गरेका कर्मचारीलाई दोब्बर तलब दिने भनेको थियो, तर उनीहरूले आफ्नो तलबसमेत पाएनन्।’ उनले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार ‘बिल्कुल नाकाम’ साबित भएको धारणा व्यक्त गरे।

त्यसैगरी नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले कोभिड–१९ पुनः फैलिँदै गएको र रोकथाममा प्रदेश सरकारले कागजी निर्णयबाहेक केही गर्न नसकेको आरोप लगाए। उनले भने, ‘आइसोलेसन, क्वारेन्टाइन र कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो, तर हालसम्म निर्माण गर्न नसक्नु आपत्तिजनक छ।’

वीरगञ्‍जमा कोरोना संक्रमणबाट भयावह अवस्था निम्तिइसकेको, त्यहाँका अस्पतालमा अक्सिजन र बेड अभाव हुन थालेको र संक्रमितहरू घरमै मर्न बाध्य भइरहेका विश्वकर्माले बताए। यस्तो अवस्थामा समेत प्रदेश सरकारले कुनै व्यवहारिक तयारी नगरेको उनको भनाइ छ।

थाहाखबरबाट 

२०७८ बैशाख १६, बिहीबार ०७:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय