मनिका झा
जनकपुरधाम, कार्तिक ।
मधेस प्रदेशमा प्रत्येक दिन नयाँ–नयाँ ‘राजनीतिक नाटक’ मञ्चन भइरहेका छन्। कानुन बनाउने थलोका प्रदेशसभा सदस्यहरू नै कानुन मिच्ने र प्रदेशको नेतृत्व हाँक्नेहरूबाट संसदीय राजनीतिका विकृतिलाई अँगाल्दा मधेसको राजनीति आक्रान्त छ। जेन–जी आन्दोलन देशभरि नै भयो। तर, अन्य प्रदेशमा भन्दा मधेसको राजनीतिमा यसको सर्वाधिक असर पर्यो।
पछिल्लो दुई महिनामा मधेस प्रदेशको राजनीतिमा आएको भुइँचालो शान्त हुनुभन्दा पनि दिन प्रतिदिन उग्र बन्दै गइरहेको छ। ‘मधेसको पछिल्लो घटनाक्रमहरूले गर्नेभन्दा हेर्नेलाई बढी लाज भन्ने कुरालाई चरितार्थ गरेको छ,’ जनकपुरका युवा अभियन्ता सरोज मिश्र भन्छन्, ‘संघीयता हाम्रो संघर्षले ल्याएका हौं। हामी युवाहरू महिनौंसम्म यसका लागि लड्याौं, कतिले ज्यान गुमाए, कति परिवारको जीवन तहसनहस भयो अनि मात्रै संघीयता आयो। तर, त्यत्रो बलिदानीबाट प्राप्त उपलब्धिलाई आफ्नो स्वार्थका लागि बर्बाद पार्ने काम हुँदैछ।’
माननीयका ‘अमानवीय’ काम
कानुन निर्माणकर्ता र विधिको शासनको वकालत गर्ने मधेस प्रदेशका सांसदहरूले बदलिँदो राजनीतिक परिवेशमा नत आफ्नो गरिमा बचाउन सकिरहेका छन् नत सम्मान नै। ‘माननीय’ का रूपमा सम्बोधन हुने सांसदहरूका अराजक क्रियाकलापले देशभरिनै मधेसको छवि धुमिल हुँदै गएको छ।
प्रदेश मुख्यमन्त्री नियुक्तिको क्रममा देखिएको विवादमा प्रतिविरोध जनाउँदै कांग्रेस सहितका ७ दलीय गठबन्धनका सांसदहरूले देखाएको व्यवहार कानुनविपरीत मात्रै नभई अमानवीय पनि छ।
अन्नपूर्ण पोष्टबाट साभार गरिएको

