
काठमाडौं : नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि सात हजार दुई सय सिलिण्डर उत्पादन भइरहेको बताउनुभयो ।
नौ वटा अक्सिजन प्लान्टले दैनिक यो परिमाणमा उत्पादन गरेका हुन् । कोरोनाको दोस्रो लहर निकै सङ्क्रामक देखिएकोले धेरै बिरामीलाई हाइ फ्लो अक्सिजन चाहिएको छ । एउटा बिरामीलाई दैनिक पाँच वटासम्म सिलिण्डर चाहिएको उहाँले बताउनुभयो ।
अक्सिजनको उत्पादन र मागबीच ठूलो अन्तर छ । वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने उहाँले बताउनुभयो । यस्तै उहाँले विद्युतबाट अक्सिजन र पुराना अक्सिजन प्लाण्ट मर्मत गरेर उत्पादनको तयारी थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘विदेशबाट तरल अक्सिजनको आयात चाँडै गरेर पनि यसको अभाव हुन दिदैनौँ ।’ उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मत सम्भार गरेर चलाउने छ ।
उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र बाराबाट अक्सिजन ल्याइएको छ । नेपालमा उत्पादन कम भएकोले दातृ निकायबाट तरल अक्सिजन ल्याउने तयारी छ । ती तरल अक्सिजन सिलिण्डरमा हालेर वितरण गर्ने तयारी छ । तरल अक्सिजन प्लान्ट तीन सरकारी र तीन निजी अस्पतालमा छ । तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् ।
सीसीएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पुर्याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ । अक्सिजन उत्पादनमा समस्या पर्ने भएकोले नियमित विद्युत आपूर्तिको व्यवस्थापन गर्न सीसीएमसीले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ ।