काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को विवाद चर्किएको छ। दुई पक्षले छुट्टाछुट्टै भेला, बैठक गर्न थालेका छन्। पार्टी एकता भएको एक वर्ष नबित्दै उनीहरू छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागिसकेका छन्।
डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले शनिबार आफू पक्षका केन्द्रीय कार्यकारिणी समितिको बैठक गरेका छन्। महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले केन्द्रीय कार्यकारिणीको कुनै बैठक नरहेको र त्यस्तो जानकारी नभएको बताएको छ। अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी रहेको विभिन्न सञ्चारमाध्यम एवं समाजिक सञ्जालबाट सूचना एवं समाचार सम्प्रेषित भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
‘जसपाको कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ।
ठाकुर पक्षले बिहीबार मात्रै बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ। एकताको समयमा भएको सहमतिकै आधारमा महतोलाई संसदीय दलका नेता बनाइएको उक्त पक्षको दाबी छ। १९ सांसदको हस्ताक्षरमा महतो दलका नेता चयन भएको जनाइएको छ।
यादव पक्षको शनिबार बसेको केन्द्रीय कार्यकारिणी बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलको बैठकबाट दलका नेता चयन भएको विषयमा सञ्चारमाध्यम र सामाजिमक सञ्जालमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ। केन्द्रीय कार्यकारिण सदस्य प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा पार्टीको संसदीय दल समायोजन नभएको उल्लेख छ।
‘जसपाको अन्तरिम विधानबमोजिम हालसम्म संसदीय दलको विधान अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्थाबमोजिम हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकोले उक्त समाचार भ्रमपूर्ण रहेकोले सम्बन्धित सबैलाई जानकारीसहित स्पष्ट गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।
शनिबारको केन्द्रीय कार्यकारिणी बैठकमा २८ जनाको उपस्थिति रहेको यादव पक्षका नेता इस्तियाक राईले दाबी गरे। केन्द्रीय कार्यकारिणीमा भट्टराई र यादव पक्षको बहुमत छ भने संसदीय दलमा ठाकुर र महतो पक्षको बहुमत छ। पार्टी एकता हुँदा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का अधिकांश नेता ठाकुर र महतोसँग छन्। समाजवादी पार्टीका अधिकांश नेता डा. भट्टराई र यादवको पक्षमा छन्।
डा. भट्टराई र यादव पक्षले संसदीय दल समोजन नभएको भन्दै आफ्ना पक्षबाट ठाकुर र महतो पक्षमा गएका सांसदहरूलाई मनोवैज्ञानिक रूपमा कारबाही गर्ने संकेत गरेको देखिन्छ। ठाकुर पक्षका वा पूर्वराजपाका महेन्द्रराय यादव मात्रै यादव पक्षमा छन्। यादव पक्षका पूर्वसमाजवादी फोरमका विमल श्रीवास्तव, उमाशंकर अरगरियालगायतका केही सांसद महन्थ र राजेन्द्र पक्षमा छन्। अन्नपुर्णपोष्टबाट