जनकपुरधाम : प्रदेश २ मा एक साताको अवधिमा तीनजना मृगौला पीडितले ज्यान गुमाएका छन्। बन्दाबनदीका कारण बिरामीले उपचार नपाउँदै ज्यान गुमाएको तीन घटनामा पीडितले राज्यको कमजोरी र चिकित्सकको लापरवाहीबारे गुनासो गरेका छन्। कमेडियन आर्दश मिश्राका बुबा विनोद मिश्राको मंगलबार निधन भएपछि अहिले सामाजिक सञ्जालमा बिरामीले पाएको सास्तीबारे बहस सुरु भएको हो।
यस्तै बन्दाबन्दीका कारण बिरामीले पाएको सास्तीबारे यहाँ चर्चा गरिएको छ । ७ जेठ ०७८ मा प्रादेशिक अस्पताल जनकपुरधाममा बटेश्वर गाउँपालिका ३ का ३७ वर्षीय मृगौला पीडित रामसागर महतोले ज्यान गुमाए । समयमा डायलासिस नहुँदा उनको मृत्यु भएको परिवारजनको आरोप छ । मृतकका सालो बिरेन्द्र कुमार महतोले बिरामीलाई लिएर आएको घण्टौंसम्म पनि अस्पतालले डायलासिस नगर्दा छट्पटाएर विरामीको मृत्यु भएको उनले गुनासो गरे।
‘बिरामीलाई अस्पताल ल्याएको चार घण्टापछि पनि चिकित्सकले चासो लिएनन्,’उनले भने, ‘अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई जति आग्रह गरेपनि कसैले कुनै सुनुवाई लिएनन्।’ मृतक महतो बटेश्वर गाउँपालिका-४ राम्रोचोकस्थित राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक थिए । केहिदिन अघि मृतक महतो कोरोन संक्रमित भएपछि स्वास्थ्यमा थप समस्या आएको थियो। स्वास्थ्यमा समस्या आएपछि जेठ ६ गते अस्पताल भर्ना भएको थियो।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्ट डा. प्रमोदकुमार यादवले बिरामी कोरोना संक्रमितसमेत रहेको हुँदा बचाउन असफल भएको बताए । बन्दाबन्दीकै कारण रौतहटको गुजरा नगरपालिका ४ कनकपुरकी कुमारी विकले भोगेको पीडा अझ अत्यासलाग्दो छ । मंगलबार बेलुका उनको १७ वर्षीया छोरी समिना विकको अस्पतालले भर्ना नलिँदा ज्यान गयो। विक चार वर्षदेखि मृगौला सम्बन्धि रोगबाट ग्रसित थिइन्। मृतक समिनाको आमा कुमारी विकले वीरगञ्जका अस्पतालहरूले भर्ना गर्न नमान्दा कलिलो उमेरमै छोरी गुमाएको पीडा सुनाईन्।
‘अग्रिम जानकारी दिएर वीरगञ्ज हेल्थ केयर भर्ना हुन गए । तर, त्यँहा पुगेपछि छोरीलाई एम्बुलेन्सबाट झार्नै दिएनन्,’उनले भनिन्,‘ भर्ना नलिएपछि वीरगञ्जको लिंकरोडस्थित भवानी हस्पिटलमा गए । त्यहाँ पनि भर्ना लिएनन्।’ भवानी अस्पतालबाट निरास भएर नारायणी अस्पतालमा गएको तर, बेड खाली नरहेको भन्दै उपचार गर्न नमानेको उनले बताईन्। छोरीको उपचारको लागि उनले चार वटा अस्पताल धाए । तर उपचार नपाएको गुनासो गरिन्।
छोरीलाई अस्पतालले भर्ना नलिँदा गुमाएको उनको भनाई छ । वीरगञ्ज हेल्थ केयरका सञ्चालक डा. अबुलहैस अन्सारीले त्यो बिरामी नआएको भन्दै पञ्छिए । ‘हामीसँग त सबै खाली छ । हामी आफै बिरामी खोजीरहेका छौँ,’उनले भने, ‘तर यहाँ आएकै छैन । हामी बिरामीको सेवा गर्नकै लागि अस्पताल सञ्चालन गरेका छौं ।’ भवानी हस्पिटलका सञ्चालक रामराज श्रेष्ठले डायलासिस मेशिन नभएको कारण उपचार गर्न नसकेको बताए ।
मंगलबार नै कमेडियन आर्दश मिश्राले आफ्नो मृगौला पीडित बुबा गुमाए । उनको बुवा विनोद मिश्राको अस्पतालले बन्दाबन्दीमा डायलासिस नगर्दा ज्यान गएको सामाजिक सञ्जालमामार्फत गुनासो गरेका छन् । चार वर्षअघि देखि मिर्गौलाले काम गरिरहेको थिएनन्। सोमवार वीरगन्जको नारायणी अस्पतालमा उनको डायलासिस भएको थियो।
तीन घण्टा मेसिनमा जोडिएर रगत सफा गरेपछि जितपुरस्थित घर फर्किएका थिए । तर, अचानक उनको स्वास्थ्य स्थिति बिग्रियो। उनको ज्वरो उच्च थियो। सास पनि बढेको थियो। चार घण्टा हुनु पर्ने डायलेसिसमा तीन घण्टा मात्रै गरेको हुनाले मृत्यु भएको चिकित्सकहरूले बताएका छन्। प्रदेश २ बन्दाबन्दीका कारण बिरामीहरूले निकै सास्ती पाइरहेका छन्। अस्पतालले कोरोनाको डरका कारण उपचार गर्न मानिरहेका छैन । अधिकांश अस्पतालले बेड खाली नरहेको भन्दै भर्ना लिने गरका छैन । टुडे एक्सप्रेसबाट