
अनिल साह,
जनकपुरधाम : जनकनन्दनी गाउँपालिकाको आर्थिक सहयोग तथा हेल्पिङ्ग ह्याण्डस् नेपालको सहकार्यमा सुनौलो हजार दिन अन्तर्गतका गर्भवती महिलाहरुको लागि एक घर एक करेसाबारी तालिम सम्पन्न भएको छ । गर्भवती महिलाहरुलाई विषादी तरकारीको आयात तथा सेवन रोकी अग्र्यानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यले प्रत्येक गर्भवती महिलाको घरलाई अनिवार्य लागू हुने गरी सो तालिम सञ्चालन गरिएको हो ।
सुनौलो हजार दिन अन्तर्गतका गर्भवती महिलाहरुलाई करेसाबारीलाई अनिवार्य गर्दा कृषि खेतीको प्रवद्र्धन हुने र अग्र्यानिक तरकारी घरमै उत्पादन हुँदा विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी आउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष अब्दुल वारिख शेखले बताए । गर्भवती महिला सहित अन्यलाई अनिवार्य रुपमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम निर्माण गर्न प्रत्येक घरलाई तरकारीका बिभिन्न प्रकारका बीउ निःशुल्क उपलब्ध गराएको छ ।
‘प्रत्येक घरलाई साग, मुला, केराउ, सिमी, धनिया, प्याजका बिरुवा निःशुल्क वितरण गरिएको छ, अध्यक्ष शेखले भने, ‘एक घर, एक करेसाबारीले स्वस्थ शरीर मात्र होइन, घरलाई समेत सुन्दर र स्वच्छ राख्नेछ ।’
सुनौलो हजार दिन अन्तर्गतका गर्भवती महिलाहरुका लागि फोकस गरी शुरु गरेको ‘एक घर, एक करेसाबारी’ अभियानलाई आगामी आर्थिक वर्षमा नगरपालिकाभर विस्तार गर्ने योजनामा रहेको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताईन् । घर-घरमा तरकारीको बीउ उत्पादन गर्ने र तरकारी खेती तथा प्राङ्गारिक मल उत्पादनका लागि प्रत्यक्ष रुपमा प्राविधिक सहयोग गर्ने कृषि प्राविधिक टोली समेत खटाईने बताईन् ।
अनिवार्य रुपमा करेसाबारी उत्पादन गर्ने घरपरिवालाई गाउँपालिकाद्वारा प्रदान गरिने अनुदान तथा सहयोगमा बढोत्तरी गरी प्रमुख प्रशासकीय अधिकृत अयोधी दासले बताए । उनले पैसासँग विष साटेर खाने प्रवृत्तिको अन्त्यका लागि घर, खेतबारीमै अग्र्यानिक खेतीबाली उत्पादन गर्नुपर्नेमा कार्यक्रमले थप प्रेरणा र सन्देश समेत दिने उनको भनाइ छ । ‘यस्तो कार्यक्रमले गर्भवती महिलाहरुको गर्भमा हुर्कदै गरेको शिशुलाई समेत सकारात्मक सुधार हुने र मानसिक तथा बौद्धिक बिकास हुने भएकोले कार्यक्रमको आयोजना गरिएको हो ।’