काठमाडौं : सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् ई–पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले ई पासपोर्ट जारी गर्नका लागि आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयबाट आजदेखि औपचारिक रुपमा विद्युतीय राहदानी जारी हुन लागेको हो ।

अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रचलनमा रहेको छ । राहदानी विभागका अनुसार एक साता पछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भन्ने गर्ने छैन ।

सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीआईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग २ अर्ब ४८ करोड रुपैयाँमा ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले १० महिनाभित्र ई–पासपोर्ट वितरणको काम सकेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले सुरक्षित भनेर परिभाषित गरेको ई–पासपोर्ट एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो हुनुका साथै उच्च प्रविधिको प्रयोगका कारण विश्वासिलो पनि मानिएको छ ।

यसमा चिपको प्रयोग हुन्छ । यसमा व्यक्तिगत विवरणसहित बायोमेट्रिक तथ्यांक पनि राखिएको हुन्छ, जसले गर्दा कम्प्युटरले सजिलै रिड गर्न सक्छ । बायोमेट्रिक तथ्यांकका कारण राहदानीको दुरुपयोग हुने समस्याको समाधान हुने विश्वास गरिएको छ ।

६४ पृष्ठको ई–पासपोर्टमा पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झण्डा हुनेछ । त्यसै गरी, पहिलो पृष्ठमा भने सगरमाथा, दोस्रोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौँ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने बताइएको छ ।

२०७८ मंसिर १, बुधबार १५:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय