राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मंगलबार किसानका लागि ल्याइएको बीउ बितरण गर्ने विषयमा विवाद उत्पन्न हुँदा उपाध्यक्षले अध्यक्षको दाँच भाचेकी छिन् ।

गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषादेवी मण्डलबीच भएको कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको छ भने उपाध्यक्ष मण्डलको हातमा चोट लागेको छ ।

बैठकमा दुबैबीच विवाद हुँदा उनीहरुले एक अर्कामाथि कुर्सीले आक्रमण गर्दा अध्यक्षको दाँत टुटेको र उपाध्यक्षको हातमा चोट लागेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जानकारी दिएका छन् ।

अध्यक्ष जसपाका हुन भने उपाध्यक्ष सोही पार्टीबाट विभाजित भई गठन भएको लोसपाका हुन् । जिल्ला समन्वय समितिका प्रमुख यादवका अनुसार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरीद गरी ल्याइएको ५ सय बोरा बीउ कसरी बितरण गर्ने सन्दर्भमा बैठक बोलाइएको थियो ।

बैठकमा अध्यक्ष मण्डलले केही वडामा मात्र बीउ बितरण गर्ने र उपाध्यक्ष मण्डलले सबै वडामा बितरण गर्नु पर्ने अडान लिएपछि उत्पन्न विवाद गाली गलौज हुँदै कुटपिटमा परिणत भएको थियो । कुटपिटबाट घाइते भएका दुबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको स्थानीयवासीले जानकारी दिएका छन् ।

डिएसपी माधवप्रसाद काफ्लेले घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटाइएको एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान थालेको जानकारी दिएका छन् ।

विगत दुई वर्षदेखि सो गाउँपालिकाको गाउँ सभा हुन नसकेको अवस्थामा गत हप्ता मात्र गाउँ सभा सम्पन्न भएको थियो । सभा सम्पन्न भएपछि डाकिएको कार्यपालिकाको बैठकमा गहुँको बीउ बितरण गर्ने विषयमा प्रमुख र उपप्रमुखबीच भएको विवादले उग्ररुप लिएपछि त्यस्तो घटना भएको स्थानीयले बताएका छन् ।

 


२०७८ मंसिर २२, बुधबार ०६:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय