
सिरहा : सिरहाको जिरोमाइलमा फेला परेको एक नवजात शिशुको उद्धार गरिएको छ ।
धनगढीमाई नगरपालिका–१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा वेवारिसे अवस्थामा विहीबार नवजात शिशु (छोरा) फेला परेको थियो ।
सडक छेउमा शिशु रोईरहेको अवस्थामा यात्रीले देखेपछि प्रहरीलाई खबर गरी तत्काल उद्धार गरिएको छ । एक दुइदिन अघि मात्रै जन्म भएको अनुमान गरिएको नवजात शिशुलाई नैनपुर अस्पतालमा प्राथमिक उपचार पछि सिरहा पठाइएको छ ।
सालनाल र सोमा लागेको क्लिप अवस्थामा फेला परेकाले शिशु अस्पतालमा जन्मेको हुनसक्ने आंकलन गरिएको हो । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । अवैध सम्बन्धका कारण बच्चा जन्मेकाले सामाजिक डर भएका कारण आमाले बाटोमा फालेको हुन सक्ने अनुमान स्थानीयवासीहरुले गरिरहेका छन् ।
अहिले शिशुलाई विशेष उपचारको लागि जिल्ला अस्पताल सिरहामा राखिएको सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारीले जानकारी दिए । उनले शिशुको अवस्था सामान्य रहेको र शिशुलाई अस्पतालमा राखिएको बताए ।