
जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का अध्यक्ष महन्थ ठाकुरको चौतर्फी विरोध सुरु भएको छ ।
पार्टीमा बढदो असन्तुष्टिको सामना गर्ने हिम्मत जुटाउन नसकेका कारण उनी सोमवार जनकपुरधाम आउने कार्यक्रम अन्तिम समयमा रद्द गरेको बताइएको छ । ठाकुरले पार्टीका शीर्ष नेताहरुसित समेत सल्लाह नगरी पार्टीका जिल्ला अध्यक्ष, पर्यवेक्षक, प्रदेश अध्यक्ष र सचिव एकलौटी रुपमा नियुक्त गरेको आरोप छ ।लोसपा अध्यक्षको पछिल्लो निर्णयले उनलाई अधिकार सम्पन्न बनाउने नेताहरु समेत असन्तुष्ट भएका छन् ।
ठाकुरलाई एकल अध्यक्ष बनाउन पहल गर्ने सीमित नेताहरु मध्येका वृशेषचन्द्र लालले पार्टीमा अलोकतान्त्रिक प्रक्रिया मौलाएको बताए । ‘पार्टी गठनको बेला एकल नेतृत्व र सामूहिक निर्णय हुने सहमति भएको थियो’ उनले भने, तर पछिल्लो निर्णयले त्यो सहमतिलाई बिथोलिएको छ ।यसबाट पार्टीको कार्यकर्ता पंक्तिमा असन्तुष्टि देखिएको उनले बताए ।
‘पार्टीमा कार्यकर्ताले विरोध गर्ने अधिकार छ’ उनले भने, नेतृत्वले असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ । पार्टीलाई लोकतान्त्रिक मूल्य र मान्यता अनुरुप सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए ।
पार्टीको विधानमा जिल्ला पर्यवेक्षक कुनै पद नभए पनि इञ्चार्ज सरहको अधिकार उपयोग गर्ने हैसियतमा नियुक्ति गरिएको छ । ठाकुरले गत २४ र २५ गते गरी प्रदेश २ को ८ जिल्ला सहित झापा र कपिलवस्तुमा समेत अध्यक्ष र पर्यवेक्षक नियुक्त गरेका छन् ।त्यसमा कुनै नेतासित छलफल गरिएको छैन् । जितेन्द्र सोनललाई मात्र चारवटा पद दिएपछि असन्तुष्टि चुलिएको छ ।ठाकुरले सम्धी उमाकान्त झालाई धनुषा जिल्लाको पर्यवेक्षक बनाएका छन् । उनले आफ्ना विश्वासपात्र परमेश्वर साहलाई जिल्ला अध्यक्ष तोकेका छन् ।
निर्वाचन आयोगमा लोसपा दर्ता भएपछि बसेको कार्यकारिणी समितिले केही महिला सदस्यलाई थप्ने निर्णय गरेबाहेक अर्को बैठक बस्न सकेको छैन् । जसपा, राजपा र तमलोपामा हुँदा पनि ठाकुरले कार्यकारिणी समितिको बैठक छलेर एकल निर्णय गर्ने अभ्यास गरिसकेका छन् ।
लोसपा गठन भएको ४ महिना भन्दा बढी भइसक्दा पनि दोस्रो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छैन् ।तर जसपाले भने सो अवधिमा ३ पटक कार्यकारिणी समितिको बैठक गरिसकेको छ ।केन्द्रीय समितिको बैठक समेत गरिसकेको जसपाको लोकतान्त्रिक पद्धतिलाई त्यसैबाट अलग्गिएका अध्यक्ष ठाकुरले अपनाउन नसकेको आरोप लागेको छ । कार्यकारिणी समितिको बैठक नबोलाई ठाकुरले गरेका निर्णयको कार्यान्वयन गराउन सहज देखिएको छैन् ।
जिल्लाहरुमा अध्यक्ष र पर्यवेक्षक तोकिए पनि अन्य पदाधिकारी र सदस्यहरु मनोनित नभएकाले पद पाएकालाई पनि समिति बनाउन सहज नभएको एकजना नेताले बताए । लोसपा स्रोतहरुका अनुसार ठाकुरले आफ् ना निकटलाई प्रमुख पदमा नियुक्त गरिसकेपछि भएको विरोधलाई साम्य पार्न ठाकुरले अन्य पदहरु असन्तुष्टलाई दिने रणनीति बनाएका छन् ।हुनत पार्टीका वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी अध्यक्ष ठाकुरको निर्णयबारे मुख खोलेका छैनन् ।तर उनीहरुले आफ्ना निकटका कार्यकर्ताहरुलाई विरोध गर्न उचालेका छन् ।