
रौतहट : जिल्लाको गौर नगरपालिका–१ शिवालय मन्दिरको छेउमा रहेको पोखरीबाट एक युवक को शव बरामद भएको छ ।
सौन्दर्यकरणको क्रममा निर्माणाधीन रहेको उक्त पोखरीमा जलकुम्भी भित्र पुरुषको शव रहेको स्थानीयले देखे पछि प्रहरीलाइ खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले शव बरामद गरेको छ ।
गौर नपाको जेसिभी मेसिनको सहायताले बाहिर निकालिएको शव स्थानीय वडा नम्बर २ का शेख हविउल्लाहको ३० वर्षीय छोरा शेख एकवालको रहेको पुष्टि भएको जिप्रका रौतहटले जनाएको छ । घरबाट करिब २ दिनदेखि सम्पर्क विहीन रहेका एकवालको मंगलबार शव फेला परेको छ ।
प्रारम्भिक अनुसन्धानमा सोहि ठाउंमा डेरा लिएर बस्दै आएका युवक छारे रोगका बिरामी रहेको र पोखरीको पानी हेरेर लडेर डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ । युवकले पिठ्युमा कपडाको झोला सहित डुबेको अवस्थामा शव फेला परेको छ । युवकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा राखिएको र थप अनुसन्धान भइरहेको जिप्रका रौतहट प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।