
झापा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गर्नुभएको छ । आज झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पङ्क्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गर्नुभयो ।
कुर्सीमा बस्ने लोभ र महत्वाकांक्षाले नभएर मुलुकमा परिवर्तन ल्याउने हिम्मत बोकेर पार्टीको अध्यक्ष बनेको बताउँदै उहाँले राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धि हुन्छ त्यही मार्ग लिने बताउनुभयो ।
राप्रपाको हालै सम्पन्न महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि उहाँ पहिलोपटक गृह जिल्लामा आएर कार्यकर्तालाई सम्बोधन गर्नुभएको हो । उहाँले विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कसले कसलाई भोट दिएको भनेर आफूबाट कसैप्रति पनि पूर्वाग्रह नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन । हामीले गर्नुपर्ने काम अरु नै छ, पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु ।”
कार्यक्रममा उहाँलगायत केन्द्रीय कार्य समिति सदय र प्रदेश अध्यक्षसहित प्रदेश कार्य समितिमा निर्वाचित झापाका नेतालाई सम्मान गरिएको थियो ।