गोविन्द महतो,

जनकपुरधाम : भारतसंग सिमानाका जोडिएका नाकाहरुमा सवारी साधनको चाप बढेपछि सरकारले व्यापारिक मार्ग विस्तारको आयोजना अन्तर्गत जटही-जनकपुरधाम-ढल्केवरको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । विशेषगरी महेन्द्र राजमार्ग भन्दा दक्षिण तर्फका सिमानाकामा दुई लेनको सडकले गाडीको चापलाई धान्न नसक्ने अवस्था रहेकोले आगामी ३० वर्ष सम्म ट्राफिकलाई थेग्न सक्नेगरी व्यापारिक मार्ग जटही-जनकपुरधाम-ढल्केवर सडक खण्डलाई ६ लेनमा विस्तार गरिएको हो ।

नेपाल सरकारले हाल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत जटही-जनकपुर-ढल्केवर सडक खण्ड बिस्तारको काम द्रुत गतिमा भैरहेको छ । सरकारले यी आयोजनालाई उच्च प्राथमिकतामा राखेको सडक विभाग जनकपुरका प्रमुख ईन्जिनियर रामटहल यादवले बताए । यस खण्डको हालसम्म झण्डै ४० किमि सडक रहेको यो सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ । जसमध्ये ३२.५ किमी कालोपत्रे भैसकेको छ । बाँकी ६ लेनको पुल बनेपनि अझै केही पुलहरु निर्माणाधिन अवस्थामा रहेको छ ।

व्यापारिक क्षेत्रमा सडक ५० र गाउँघर क्षेत्रमा ३७.५ मिटर चौडाई हुने सडक भिडिजन कार्यालय जनकपुरका प्रमुख ईन्जिनियर रामटहल यादवले जानकारी दिए । उनले भने, ‘सडकको बीचमा डेडिकेटेड चार लेन तथा दुवै छेउमा सर्भिस लेन र सहरी क्षेत्रमा फुटपाथको समेत रहने हुने गरी अन्तिम चरणमा काम भैरहेको छ ।’ फूटपाथ सर्भिस लेनभन्दा बाहिर फूटपाथ छुट्ट्याइएको छ । सडक विभागले खानेपानी, ढल लगायत संरचना आफ्नै खर्चमा फूटपाथमा सारिरहेको प्रमुख यादवको भनाई छ । जसले गर्दा खानेपानी, ढल लगायतको मर्मत सम्भारका लागि सडक बिर्गानुपर्दैन । यो सडकमा निश्चित ठाउँबाट मात्र बाटो काट्न सकिनेछ ।

भारतको पिपरौन नाकादेखि सीमावर्ती जटही हुँदै पूर्व-पश्चिम राजमार्ग जोड्ने करिब ४० किलोमिटर लामो जटही-जनकपुर-ढल्केवर सडक (व्यापारिक मार्ग) निर्माण करिब साढे ७ अर्ब रुपैयाँको लगानीमा हुँदैछ । उक्त सडकको पहिलो चरणमा जनकपुर-जटही ६ लेन सडक निर्माण कार्य २०७२ साल देखि सुरु भई सम्पन्न भैसकेको छ । धनुषाको लक्ष्मिनियाँ गाउँपालिका सपही-ढल्केवर सम्मको काम सम्पन्न भैसकेको छ, भने मुख्य बजार क्षेत्र सपही देखि जिरोमाईल बेलापूल सम्म ९.५ किमिमा २.५ किमी सडकको काम द्रुत गतिमा भैरहेको ईन्जिनियर यादवले जानकारी दिए । उनले भने, ‘चालु आर्थिक वर्ष २०७८/०७९ चैत मसान्त सम्मको समयावधि मै काम सम्पन्न हुन्छ । रेलिङ्ग, पोल, नाला सहितका कामहरुको केही अंश मात्र बाँकी रहेको छ ।’

janakpur-dhalkewar (2)

पूर्व-पश्चिम राजमार्ग जोड्ने उक्त सडक निर्माण भएपछि सीमावर्ती जटहीदेखि ढल्केवर बीचमा तीव्र औद्योगिक विकास हुने स्थानीयवासीको विश्वास छ । उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह (हिरा)ले ‘६ लेन सडकको निर्माणपछि यस भेगमा उद्योग धन्धा खुल्ने क्रम तीव्र हुने विश्वास व्यक्त गरे । भारतको कोलकताबाट काठमाडौं सहितका मुलुकका अन्य भागमा माल सामान पुर्‍याउन यो सडक सबभन्दा छोटो तथा सजिलो हुने अध्यक्ष साहको दाबी छ ।

मालसामान आयात-निर्यात गर्न भारत सरकारले सीमावर्ती पिपरौनमा भारतीय भन्सार नाका खोल्ने निणर्य समेत गरिसकेको छ । यस मार्गको विस्तारले व्यापारिक नाकाहरुबाट सहज रुपमा सामान आयात निर्यात गर्न सकिनेछ । यससँगै अत्याधुनिक व्यापार मार्गमा पर्ने बस्तीहरु पनि व्यापारिक करिडोरका रुपमा विकास हुने विश्वास गरिएको छ । यस्ता करिडोरभित्र उद्योग तथा कलकारखाना निर्माणले पनि तीव्रता पाउने नेपाली काँग्रेसका नेत्री ममता महतोको भनाई छ । साथै, यस्ता व्यापारिक करिडोरमा विदेशी लगानी भित्रिने सम्भावना समेत रहेको उनको भनाइ छ ।


२०७८ पुष ५, सोमबार १६:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय