जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को कार्यसमितिका पदाधिकारीमा पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षकै उम्मेदवार निर्वाचित भएका छन्।

गएराति सम्पन्न मतगणनामा दुई जना उपसभापति, दुई जना महामन्त्री र तीन जना सहमहामन्त्री देउवा पक्षकै निर्वाचित भएका हुन्। यसअघि शुक्रबार बिहान सम्पन्न मतगणनामा सभापतिमा पनि देउवा पक्षकै कृष्णप्रसाद यादव निर्वाचित भएका थिए।

उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर कुमार यादव निर्वाचित भएका छन्। सिंहले एक हजार १९ र यादवले ८९५ मत पाए।

उपसभापति पदमा विमलेन्द्र निधि र डा. शेखर कोइराला पक्षका धनलाल ठोकरले ६३६ र बिनोद कुमार खनालले ७४० मत पाए। अर्का उम्मेदबार रामाधर प्रसाद यादवले १२४ मत पाएका छन्।

त्यस्तै, महामन्त्रीमा उपेन्द्रकुमार यादव र बृहस्पतिकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। उपेन्द्रले ९५९ र बृहस्पतिले ७८८ मत पाएका छन्।

सहमहामन्त्रीमा खुलातर्फ पर्शुराम चौधरी र जयनारायण यादव निर्वाचित भएका छन्। चौधरीले ८२२ र यादव ८७९ मत प्राप्त गरेका छन्।

यसैगरी, महिलातर्फ सहमहामन्त्रीमा बिन्दु यादव निर्वाचित भएकी छन्। उनले ८८९ मत पाएकी छन्। सहमहामन्त्रीका अन्य उम्मेदवार भीमादेवी शर्माले ५३२, रीता यादवले १५६ र रेखादेवी महराले ७६ मत पाइन्।

आज प्रदेश सदस्यहरुको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।


२०७८ पुष १०, शनिबार ११:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय