
गौर : केही दिन यतादेखि लोकमार्ग केन्द्रित आन्दोलन गर्दै आएको जनमत पार्टीले सोमबारदेखि अनिश्चितकालीन रौतहट जिल्ला बन्दको घोषणा गरेको छ ।
पार्टीको जिल्ला समन्वय समिति रौतहटले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनिश्चितकालीन जिल्ला बन्दको घोषणा गरेको हो ।
पार्टीको जिससका अध्यक्ष रामेश्वरप्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ कृषिप्रधान देश नेपालको मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशासँग आबद्ध छन तर किसानहरुले हरेक वर्ष बीउ विजन, मलखादको अभाव खेप्दै आएका छन् ।
बीउ विजन , मल खाद र सिंचाईको व्यवस्था गर्न तीनै तहका सरकारसँग पटक–पटक माग गर्दा पनि वेवास्ता गरेकोले हामी सडक आन्दोलन गर्न बाध्य भएका छौं।’ कृषकहरुमाथि राज्यले दमनकारी नीति अख्तियार गरेको भन्दै जनमत पार्टीले रौतहटबाट अनिश्चित कालको लागि मधेस बन्दको सुरुवात गर्न लागेको विज्ञप्तिमा उल्लेख रहेको छ । बन्दका बेला खाद्य, औषधि पसल लगायतका आकस्मिक सेवामाथि कुनै प्रतिबन्ध नलगाइने जनाइएको छ ।