वीरगञ्ज : नेपाली कांग्रेस लचिलो बनेपछि प्रदेश २ को नाम छिट्टै टुङ्गो लाग्ने संकेत देखिएको छ ।

मंगलबार जनकपुरधाममा प्रदेश २ को नामका लागि विभिन्न दलको तर्फबाट गएका प्रतिनिधिहरु बीच भएको छलफलमा कुनै निस्कर्ष नआएपनि नेपाली कांग्रेस ‘मधेस-प्रदेश’ नाम प्रति लचिलो देखिएको छ ।

कांग्रेसले प्रस्ताव गर्दै आएको नाम ‘मिथिला–भोजपुरा प्रदेश’ लाई छोडेर ‘मधेस-प्रदेश’ नाममा सहमत हुने लचकता देखाएको प्रदेश सभाको विशेष समितिका संयोजक सभामुख सरोज कुमार यादवले जानकारी दिए । तर, मधेश प्रदेश राखिए त्यसमा जानकी, मिथिला, जनक केही जोडिनुपर्ने कांग्रेसको प्रस्ताव छ ।

यता, पर्साबाट निर्वाचित कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले भने प्रदेशको नाम ‘मध्य–मधेश प्रदेश’ प्रस्ताव गरेका छन् । यद्दपी, उनको प्रस्तावलाई कांग्रेस आफैले स्वीकार्ने पक्षमा छैन ।

एमालेले प्रदेशको नाम ‘जनक’ भनेर प्रस्ताव दर्ता गराए पनि नेकपा एकीकृत समाजवादी (एस) ले दर्ता गरेको ‘जानकी प्रदेश’ मा सहमति जनाएको छ । एमालेका नेताहरुले एसलाई समर्थन गरे पनि संख्या २१ मात्र पुग्ने भएको छ । प्रदेश सभामा नाममा सहमति जुटाउन सकस भइरहेको सभामुख यादवले बताए ।

‘राजनीति अडान दलहरुले नाममा लिएकाले सकस भएको छ ’उनले भने, प्रदेश २ ले सर्वसम्मतिबाट प्रदेशको नाम राखेर देशमा सकारात्मक सन्देश दिनु आवश्यक छ । मधेस प्रदेशप्रति कतिपय सभासदहरु लचिलो भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रबीच मधेस प्रदेशमा सहमति भइसकेकाले अन्य दलका मधेसी मानसिकता भएका प्रदेशसभा सदस्यहरु यस नाम तर्फ समर्थन जनाउन लचिलो भएका छन् ।

प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्ने पक्षमा ६३ जना प्रदेशसभाकास सदस्यहरु सहमत छन् । तर, दुई तिहाईका लागि ७० जनाको सहमति चाहिन्छ । यता, प्रदेशको राजधानी जनकपुरधामलाई तोक्नेमा पाँच दलबीच सहमति भएपनि नामका लागि सहमति जुटाउन अफ्ठ्यारो भएको छ ।

जनकपुरधाम प्रदेशको स्थायी राजधानी हुने निश्चित जस्तै छ । विगतमा जस्तो यस पटक राजधानीको प्रस्ताव विफल हुने संभावना न्यून रहेको देखिन्छ ।


२०७८ पुष २२, बिहीबार ०९:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय