
महोत्तरी : नेपाली काँग्रेस महोत्तरीमा जिल्ला अधिवेशन अगावै यसअघि अल्झेको क्षेत्रीय अधिवेशन आयोजनाको माग राख्दै आमरण अनशन सुरु गर्नु भएका सो दलका नेता बजरङ्ग नेपालीको माग ३६ घण्टामा सम्वोधन भएको छ ।
बुधबार बिहान आठ बजे नेका महोत्तरीको कार्यालय स्वर्गीय महेश्वरप्रसाद सिंह भवनमा अनशन थाल्नु भएका नेपालीको माग बिहीबार साँझ सम्वोधन भएको हो ।
नेकाका उपसभापति धनराज गुरुङ्ले आफैं उपस्थित भई नेपालीको माग सम्वोधन हुने प्रतिवद्धता जनाउनु भएपछि नेपालीले अनशन समापन गर्नु भएको छ । नेपालीलाई उपसभापति गुरुङ्ले फलको रस (जुस) ख्वाएर अनशन समापन गराउनु भएको हो । अब यसअघि दलभित्रको आन्तरिक किचोलाले अल्झेको मनराशिशवा नगरपालिका-८ को वडा अधिवेशन, नगर अधिवेशन र प्रतिनिधिसभा क्षेत्र नम्बर-३ को अधिवेशन जिल्ला अधिवेशन अगावै सम्पन्न हुने सुनिश्चितता भएको नेका महोत्तरीका कार्यवाहक सभापति शम्भुनारायण पाठकले पुष्टि गर्नुभयो ।
“केन्द्रीय उपसभापति धनराज गुरुङ्ले लिखित रुपमै जिल्ला अधिवेशन अगावै यसअघि अल्झेका वडा, नगर र क्षेत्रीय अधिवेशन आयोजना गर्न सम्वद्ध निर्वाचन समिति लाग्ने प्रतिवद्धता जनाउनुभयो” पाठकले भन्नुभयो, “यो प्रतिवद्धता आएपछि नेपालीले अनशन समापन गर्नु भएको हो ।” अब आउने माघ-२ गते वडा, नगर र क्षेत्रीय अधिवेशन आयोजनाको तयारी गरिने र माघ १५ गते जिल्ला अधिवेशन हुने तय भएको पाठकको भनाइ छ ।
यसअघि स्थगित भएका जिल्ला अधिवेशनहरु यही पुस २७ गते सम्पन्न गर्न पार्टी केन्द्रीय कार्यालयले निर्देशन जारी गरेको थियो । सोअनुरुप अल्झेका वडा, नगर र क्षेत्रको अधिवेशन थाति नै राखेर जिल्ला अधिवेशनको तयारी अघि बढेपछि नेपालीले अनशन थाल्नु भएको हो । “मैले जिल्ला अधिधवेशनमा क्षेत्र नम्बर-३ को सहभागिताको सुनिश्चितता खोजेको हुँ” अनशन समापन गर्दै हिजो बिहीबार साँझ नेपालीले भन्नुभयो, “केन्द्रीय उपसभापति गुरुङ्बाट सोको सुनिश्चितताको प्रतिवद्धता पाएपछि अनशन समापन गरें ।”
नेपाली काँग्रेसमा पारिवारिक लगावले सानै उमेरमा जोडिनु भएका नेपाली नौ वर्षको उमेरमै सशस्त्र आन्दोलनका लागि हातहतियार ओसार्ने क्रममा सन् १९७४ को डिसेम्बर १४ तारिखका दिन भारतको सीतामढीमा पक्राउ पर्नु भएको थियो । त्यतिखेर प्रवासमा रहेर आन्दोलनको तयारीमा रहनु भएका पिता गणेश नेपाली, महन्थ ठाकुर, बासुशरण कोइराला, बलराम शर्मा, सूर्यनारायण पाण्डे, मयन्द्र पाण्डे र भारतीय नागरिक रामचन्द्र मिश्र आपूmसँगसँगै सीतामढीमा पक्राउ परेर लामो समय कारागार बस्नु परेको नेपाली सम्झनुहुन्छ ।
पञ्चायतकालमा पटक/पटक जेल, नेल र राजनीतिक मुद्दा खेप्नु भएका नेपालीले दलभित्र लोकतान्त्रिक पद्धति नमेटियोस् भनेर आपूmले अनशनका माध्यमले सम्झनामात्र गराएको र पार्टी केन्द्रले त्यसको सम्वोधन गरेको भन्दै सम्वद्ध सबैलाई अब अधिवेशनको तयारीमा लाग्न अपिल गर्नु भएको छ ।