
जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेशी, आदिवासी, जनजाति, थारु, मुस्लिम लगायतका जनताहरुले शासकहरुको षडयन्त्र बुझ्न नसकेको बताएका छन् ।
महोत्तरीको बर्दिबासमा सोमवार देखि शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । सोमवार देखि तीन दिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादवले नेपालको राजनीतिक इतिहासको सन्दर्भमा प्रशिक्षण दिएका थिए ।
उनले नेपालको स्थापना कालमा कसरी खस आर्यहरु यहाँ आए, एकल जातीय वर्चश्व बढाए, कसरी पृथ्वी नारायण शाहले गोरखा राज्यको विस्तार गरी नेपाल निर्माण गरे र मधेशी, आदिवासी, जनजातिमाथि राज्य सत्ता थुपारे, पछि राणा र महेन्द्र देखि वीरेन्द्र सम्मको इतिहास उल्लेख गरेका थिए । अध्यक्ष यादवले पृथ्वीनारायण शाहको विस्तारवादी सोचलाई पछाडि आएका राजाहरुले आत्मसात नगरे पनि उनीहरुले मधेशी जनतालाई हेर्ने दृष्टिकोण भने उनीभन्दा पनि कठोर रहेको आरोप लगाएका थिए ।
उनले पृथ्वीनारायण पछि महेन्द्रको सोचमा मधेशी जनतालाई कसरी दवाएर दासत्वको परिधि भित्र गुम्सिएर राख्ने चाहना रहेको चर्चा गरे । मधेशी, जनजाति, आदिवासीहरु सोझासाझा रहेका कारण कहिले धर्म कहिले भेषभूषा त कहिले संस्कृतिको नाममा उनीहरुले ठग्दै आएको समेत उनले प्रसंग उल्लेख गरे । अध्यक्ष यादवले धर्म, संस्कृति र भेषभूषा संग जोडेर राजनीतिक र आर्थिक रुपमा कमजोर गर्दै उनीहरु हामीहरुमाथि दमन गर्दै दास झै बुझेको आरोप लगाएका थिए ।
मधेशी, आदिवासी, जनजाति, मुस्लिमहरुले यिनीहरुको षडयन्त्र नबुझेर आफैमा लडाएर खस आर्यहरु ५१ प्रतिशत मधेशीमाथि शासन गरिरहेको समेत उनले बताए । प्रजातान्त्रिक आन्दोलनमा मधेशीहरुको महत्वपूर्ण भूमिका रहे पनि खस आर्यहरुको धुर्तयाइ मधेशीहरु बुझ्न नसकि फेरि त्यहि प्रवृतिका व्यक्तिहरुको हालीमुहाली भएपछि मधेशी जनताले मधेश आन्दोलन गरेको बताउँदै उनीहरुकै हालिमुहाली अहिले रहेका कारण मधेश आन्दोलनमा भएका सहमतिहरु कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले आरोप लगाए ।
मधेश आन्दोलनमा मधेशी सपुतहरुले सहादत दिँदा कसैले आँप झरेको त माके संगालो जस्ता अभद्र टिप्पणी गरी मधेशी जनतालाई अपमान गर्नु खस आर्य मानसिकता रहेको उनले टिप्पणी गरे । सवै सीमान्तकृत समुदाय एकत्रित भई खस आर्यलाई जवाफ दिनुपर्ने समय आएको पनि उनले बताए । कार्यक्रममा पूर्व सभासद आत्माराम साहले भूराजनीति र नेपालको अवस्थाको विषयमा प्रशिक्षण दिएका थिए ।
उनले नेपालको भौगोलिक बनावट र संघीयता कार्यान्वयनको जटिलता कसरी अन्त गर्ने सम्वन्धमा प्रशिक्षण दिएका थिए । विभिन्न ११ वटा विषयमा प्रशिक्षण दिइने जनाइएको छ । जसमा सोमवार दुईवटा विषय प्रशिक्षण दिइएको छ भने ९ वटा विषयमा मंगलवार र वुधवार प्रशिक्षण दिई कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।