काठमाडौं : पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ भने वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। साथै पश्चिम र पूर्वी तराई भेगमा हुस्सु र कुहिरो लागेको छ।
आगामी २४ घण्टामा देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज देशभर चिसो अझै बढ्ने क्रममा रहेको छ। चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु महाशाखाले जनाएको छ।
आज दिउसो पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यस्तै, राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

